भारतमा कोरोना बढेसँगै रौतहट नाकामा स्वदेश फर्किनेको चाप

३० चैत्र, रौतहट । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै सीमा नाकामा स्वदेश फर्किनेहरुको चाप बढेको छ । भारतमा कोरोनाको दोसो लहर चलिरहँदा त्यहाँ रहेका नेपालीहरु घर फर्किन थालेका छन्् ।
रौतहटको सीमा क्षेत्र भएर प्रत्येक दिन सयौंको संख्यामा नेपालीहरु भित्रिरहेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका उनीहरु कोरोना संक्रमण बढेसँगै घर फर्किएका हुन् ।

सीमा क्षेत्रमा नेपाल भित्रिनेहरुको चाप बढिरहे पनि तथ्यांक राख्ने तथा चेकचाँज गर्ने अहिले सम्म कुनै व्यवस्था गरिएको छैन ।
भारतीय शहरहरुमा लकडाउन हुन थालेपछि घर फर्कन चाहने विदेशीहरुको लागि मुम्बई लगायतका केही शहरबाट हाल निःशुल्क रेल सुविधा प्रदान गरिएको छ । लकडाउनमा परदेशमा घेरिनुभन्दा निःशुल्क रेल सुविधा पाएको बेला घर फर्किनेहरुले गर्दा सीमा क्षेत्रमा चाप बढेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

भारतसँगको खुल्ला नाकाका कारण स्थानीयहरु अन्य बाटो भएर प्रवेश गर्न सक्ने भएकोले सुरक्षा निकायलाई निगरानी बढाउन निर्देशन दिएको पनि प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
जिल्लामा पीसीआर ल्याब सञ्चालनमा रहेको तथा सबै पालिकाहरुलाई क्वारेन्टिनको व्यवस्थापन गर्न पत्राचार गरिएको पनि यादवले बताए ।