एलन मस्कको कम्पनीले गर्‍यो चमत्कार, बाँदरले खेल्यो कम्प्युटरमा भिडियो गेम

विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको स्टार्टअप कम्पनी न्युरालिंकले एउटा यस्तो भिडियो सार्वजनिक गरेको छ, जसले धेरैलाई आश्चर्यमा पारिदिएको छ ।

सार्वजनिक भएको भिडियोमा एउटा बाँदर आफ्नै दिमाग लगाएर भिडियो गेम खेलिरहेको देख्न सकिन्छ । एउटा बाँदर भिडियो गेम पोंग खेलिरहेको न्युरालिंकको भिडियो मस्कले ट्वीटरमा सेयर गरेका छन् ।

स्मरण रहोस् न्युरालिंक एउटा यस्तो कम्पनी हो जसले जसले प्रत्यारोपणयोग्य मस्तिष्क मेसिन इन्टरफेसको विकास गरिरहेको छ जसले मानिसको मस्तिष्कलाई कम्प्युटरसँग जोड्नेछ ।

भिडियो गेम खेल्ने बाँदरको कथा

नौ वर्षको पेजर नामक उक्त बाँदरले यो भिडियो खिच्नुभन्दा झण्डै ६ हप्ताअघि न्युरालिंकको मेसिन प्रत्यारोपण गरिएको थियो ।

पेजरलाई सुरुमा जोएस्टिकको सहायताले अनस्क्रिन गेम खेल्न सिकाइएको भिडियोबाट प्रष्ट हुन्छ ।

पेजरले भिडियो गेममा रंगिन वर्गहरुलाई सार्नका लागि जोए स्टिकको प्रयोग गरेको भिडियोमा देख्न सकिन्छ ।

केही छिनपछि कम्प्युटरबाट जोएस्टिक हटाइन्छ तर पेजरले चाहिँ आफ्नै दिमागले पोंग गेमलाई निरन्तरता दिएको हुन्छ ।

न्युरालिंकले आफ्नो आधिकारिक वक्तव्यमा भनेको छ-हामीहरु यो खुलासा गर्दा खुसी छौँ कि आफ्नै स्नायुजन्य क्रियाकलापमार्फत् पेजर नामको बाँदरलाई कम्प्युटर स्क्रिनमा कर्सर सार्न सक्षम बनाउन न्युरालिंक सफल भएको छ । बाँदरमा १०२४ इलेक्ट्रोडयुक्त न्युरल रेकडिंग तथा डाटा ट्रान्समिसन यन्त्र प्रत्यारोपण गरिएको थियो ।

टेस्ला सीईओ मस्कले उक्त भिडियो शेयर गर्दै ट्वीटरमा लेखेका छन् – बाँदरले आफ्नो दिमागले पोंग खेलेको छ । वास्तवमा एउटा बाँदर ब्रेन चिपको प्रयोग गरी भिडियो गेम खेलिरहेको छ ।

एक अर्को ट्वीटमा मस्कले बताए अनुसार न्युरालिंक कम्पनीले उत्पादन गर्ने उपकरणहरुको सहयोगमा प्यारालाइसिस भएका मानिसहरुले आफ्नो दिमागको सहायताले स्मार्टफोन चलाउन सक्नेछन् र उनीहरुले स्मार्टफोन चलाउने गति सामान्य मानिसले औँलाले चलाउने गतिभन्दा तीव्र हुनेछ । उनका अनुसार न्युरालिंकका उपकरणहरुले पक्षघात भएका मानिसहरुलाई हिड्न सक्ने समेत बनाउनेछ ।