एक हप्ताभित्रै खुलामञ्चबाट बसपार्क सर्ने

३० चैत्र, काठमाडौं । एक हप्ताभित्रै खुलामञ्चबाट बसपार्क सर्ने भएको छ । लामो समयसम्म खुलामञ्च अतिक्रमण गरेर बसपार्क राखेको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिकाले पार्किङ सार्न लागेको हो ।
खुलामञ्च खाली गर्न महानगरपालिकाले शहरभित्र चल्ने बसहरुलाई रत्नपार्कमा ‘पिक एन्ड ड्रप’ प्रणालीमा फन्को मार्न दिने तयारी गरेको छ । पुरानो बसपार्कबाट छुट्ने लामो दूरीका बसहरु भने नयाँ बसपार्क, काटेश्वर वा सो भन्दाबाहिरबाट छुटाउने तयारी छ ।

‘हामीले अरनिको यातायातसहित सम्बद्ध कम्पनीलाई खुलामञ्चबाट उपयुक्त स्थानमा बसपार्क लैजान भनिसकेका छौं,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘एक हप्ताभित्रै खुलामञ्च सार्वजनिक कार्यक्रम गर्ने मञ्चका रुपमा पुनर्स्थापित गर्छौं ।’ खुलामञ्चमा वीर अस्पतालको भवन निर्माणका क्रममा ठेकदारले बनाएको संरचना पनि हटाइनेछ ।

अहिले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, खोटाङ, ओखलढुंगा लगायतका क्षेत्रमा जाने बसहरु खुलामञ्चको बसपार्कबाट छुट्छन् । यी बसहरु अन्य स्थानको बसपार्कबाटै छुटाउने योजना महानगरको हो ।
बसपार्क सार्न विकल्प खोजिरहेको महानगरपालिकाले पुरानो बसपार्कमा बन्दै गरेको २९ तले ‘काठमाडौं भ्युटावर’ को बस टर्मिनल तयार गराएर बसपार्क फिर्ता गर्न भने ध्यान दिएको छैन ।
खुलामञ्चमा अस्तव्यस्त बसपार्क चलाउँदा महानगरपालिकाले सार्वजनिक क्षेत्रको संरक्षण र सरसफाइमा उदासीन बनेको आरोप खेपिरहेको छ । सम्पदाप्रेमी र वातावरणविद्हरु खुलामञ्चमा गरिएको ढलान हटाएर घाँसे मैदान बनाउन माग गरिरहेका छन् ।

यहीबेला ‘काठमाडौं भ्युटावर’मा चौंथो तलाको काम हुँदैछ । काम सुरु गराउँदा महानगरले टावरको तीन तला (बेसमेन्ट)को काम सक्नासाथ बस टर्मिनल बनाएर खुलामञ्चको बसपार्क सार्ने भनेको थियो । उसले यही टावर बनाउन बसपार्कलाई खुलामञ्चमा सारेको थियो ।
महानगरपालिकाले जलेश्वर–स्वच्छन्द बिकोइलाई निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा टावर निर्माणको जिम्मा दिएको थियो । पुरानो बसपार्कको खुला ठाउँलाई ३० वर्षे सम्झौता गरेर टावर बनाउन जिम्मा लगाएको महानगरपालिका काममा ढिलाइ हुँदा पनि कडा रुपमा प्रस्तुत गरिएको छैन ।