प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाए

३० चैत्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । वैशाख ६ मा केन्द्रीय कमिटी बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले जानकारी गराएका छन् ।

यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने बताए । एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ ।

समानान्तर गतिविधि गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बनको कारबाही गरेका छन् । ओलीले आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी पनि गरेका छन् ।

गएको ७ चैत्रमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएका छन् । आगामी बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी छ ।
गएको ५ पुसमा प्रतिनिधिसभा विघटनको निर्णयमा साथ दिने नेताहरुलाई सांगठनिक जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारिएको एक नेताले जानकारी दिए ।