रेसुङ्गामा वर्षेनी डढेलो लाग्दा करोडौंको क्षति

२९ चैत्र, गुल्मी । सुख्खा मौसमा सुरु भएसँगै सदरमुकाम तम्घास नजिकैको रेसुङ्गा वनमा वर्षेनी डढेलो लाग्दा करोडौंको क्षति हुने गरेको छ ।

केही दिन यता गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन् ।
सुख्खा मौसम, पानी तथा जनशक्तिको अभाव, हावाहुरी र सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रणमा आउन नसक्दा वर्षेनी करोडौंको क्षति हुने गरेको छ ।

तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुङ्गा क्षेत्रको अधिकांश भू–भाग प्रत्येक वर्ष डढेलोले ध्वस्त हुने गरेको छ ।
केही दिनयता पनि रेसुङ्गा क्षेत्रमा आगलागी भएको हो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको टोली खटिए पनि आगो भने नियन्त्रणमा आउन सकेको छैन ।

डढेलोले प्रत्येक वर्ष वन क्षेत्रभित्रका पशुपन्क्षी, महत्वपूर्ण जडीबुटी, रुख, विरुवा जलेर नष्ट हुने गरेको छ ।
आगोलागीले रेडियो नेपाल, एनसेल, भ्यु टावर तथा यज्ञशालालगायतका महत्वपुर्ण मन्दिर र भौतिक संरचना जोखिममा छन् भने जडीबुटी तथा वन्यजन्तुको अस्तित्व संकटमा पर्न थालेको छ ।

आगो नियन्त्रणमा ल्याउन नसकिए वन क्षेत्र नजिकका पराल्मी, वलिथुम, गौडाकोट, दुविचौर, तम्घास र अर्खलेसम्मका बस्तीमासमेत जोखिम छन् ।

हाल जिल्लाका रेसुङ्गासँगै दैनिक जसो एक दर्जन बढी सामुदायिक वनमा आगलागी हुने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी पुरुषोत्तमप्रसाद पाण्डेले बताए । सुख्खा सिजन हावाहुरी चलिरहेकाले आगो नियन्त्रणमा कठिनाही हुने गरेको उनले बताए ।