नेपाल पत्रकार महासंघको मतपरिणाम अन्तिम चरणमा कसले कहां जिते

२८ चैत्र, काठमाण्डौ । नेपाल पत्रकार महासंघको २६औं नयां नेतृत्व चयनका लागि केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुमा एकै पटक निर्वाचन सम्पन्न भएर नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । प्राय जिल्लाको मत परिणाम आईरहेको छ भने महासंघको केन्द्रीय समितिको मतगणना जारी छ भने अधिकांश जिल्ला, प्रतिष्ठान, एसोसिएट र प्रदेश समितिको नतिजा सार्वजनिक भइसकेको छ ।

नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस निकट प्रेस युनियन र नेकपा माओवादी केन्द्र निकटको प्रेस संगठनसहित ११ वटा पत्रकार संघले गठबन्धन गरेका थिए । त्यस्तै नेकपा एमाले निकट संगठन प्रेस चौतारीको केपी शर्मा ओली समूहले जनता समाजवादी पार्टी निकट प्रेस संगठन प्रेस मञ्चसहितले गठबन्धन बनाएर चुनावमा होमिएको थियो । प्रेस युनियन र प्रेस संगठन विपुल पोखरेलको नेतृत्वमा र प्रेस चौतारीको ओली समूह निर्मला शर्माको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दिएको थियो ।

महासंघको केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म केन्द्रीय समितिका लागि पोखरेल समूहको प्यानल नै अगाडि छ । हालसम्म केन्द्रीय समितिको लागि ५५ जिल्लाको मत गणना सकिएको निर्वाचन समितिका सदस्य हिरण्ड शाक्यले जानकारी दिए ।

निर्वाचन समितिका अनुसार ५५ जिल्लाको मत गणना सकिदा अध्यक्षका प्रत्यासी पोखरेलले ४ हजार ४ सय ४६ मत ल्याएका छन् भने शर्माले हालसम्म २ हजार ५ सय ३० मत प्राप्त गरेकी छिन् । पोखरेल समूहको प्यानल सबै पदमा अगाडि देखिएको छ ।

उता जिल्ला समितिको भने अधिकांश जिल्लाको मतपरिणाम सार्वजनिक भइसकेको निर्वाचन समितिले जनाएको छ । जिल्ला समितिहरुमा अधिकांश पोखरेल गठबन्धनले नै जितेको निर्वाचन समितिले जनाएको छ । सार्वजनिक भएका ७० बढी जिल्ला अध्यक्षमा १ दर्जन बढी जिल्लामा शर्मा नेतृत्वको गठबन्धनले जित हासिल गरेको छ भने बाँकी अधिकांश पोखरेल गठबन्धनले जित हासिल गरेको छ । यद्यपि, केही जिल्लाहरुमा भने केन्द्रको भन्दा फरक गठबन्धन बनाइएको थियो ।