गोर्खा ब्वाइज रुपेन्देहीलाई ट्राइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस क्वाटरफाइनल प्रवेश

२८ चैत, विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपको क्वाटरफाइनल खेलमा गोर्खा ब्वाइज रुपेन्देहीलाई ट्राइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस क्वाटरफाइनल प्रवेश गरेको छ ।

हिजो भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै भारत क्वारटफाइनलमा प्रवेश गरेको हो ।

संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमको एक÷एक गोलको बराबारी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो ।

ट्राइब्रेकरमा भारतको तर्फबाट सरबजीत सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरीदेव सिंहले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए ।

रुपन्देहीका शक्ति राई र गौरभ श्रेष्ठले मात्र गोल गरे । आशिष गुरूङ्गको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए भने अजित गुरूङ्गले गरेको प्रहार पोसमा लागेर बाहिरियो ।

खेलको म्याद अफ द म्याच भारतको गोल रक्षक सतवीर सिंह घोषित भएका थिए । दोस्रो हाफदेखि आक्रमक भएको रुपेन्देहीले खेलको ८०औं मिनेटमा शक्ति राईले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । लुइस भिदलले निकालिदिएको फ्रिकिक शक्तिले सदुपयोग गरेका थिए ।

दोस्रो हाफममा गोल भएपछि भारत दबाबमा परेको थियो । तर, रुपन्देहीका लागि अग्रताको त्यो खुसी लामो समयसम्म टिक्न सकेन ।

खेलको अन्त्य तिरमा रुपन्देहीका खेलाडी समालिन नसक्दा ९०औं मिनेटमा भारतका जितेन्द्र सिंहले हेडमार्फत गोल गरी खेल बराबरीमा ल्याए ।

सरबजीत सिंहले निकालिएको पासलाई जितेन्द्रले हेडमार्फत जाली चुमाए । हरमिन्द्रको ठाउँमा मैदान प्रवेश गरेका जितेन्द्रले दोस्रो हाफपछि गोल गरेपछि खेल बराबरी भएको हो ।

खेलको २२औँ मिनटमा भारतका सुशील यादवले फस्ट बार च्यापेर गरेको प्रहार बाहिरियो । खेलको ४१, ७३ र ८९औँ मिनेटमा पनि रुपेन्देहीले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको थियो ।