देउवाको प्रस्ताव माओवादीद्धारा सदर जसपाद्धारा समय माग

२७ चैत्र, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बोलाएको तीन दलको बैठकमा आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका छन् ।

यो प्रस्तावलाई माओवादी केन्द्रले सहजै समर्थन गरे पनि जनता समाजवादी पार्टीले थप समय माग गरेको छ ।

आव अपरान्ह देउवा निवासमा बसेको बैठकमा देउवाले सरकार बनाउने औपचारिक प्रस्ताव माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग राखेका थिए ।

आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ थिए भने जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा थिए ।

यही बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव पहिलोपटक औपचारिक रूपमा राखेका हुन् ।

बैठकको सुरूमै देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राख्दै अन्य दलबाट समर्थन खोजेका थिए ।
देउवाको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाले पार्टीमा छलफल गर्नुपर्ने भन्दै समय माग गरेको छ ।

अर्को बैठक छिटै बस्ने गरी आज आधा घण्टामै बैठक सकिएको थियो ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेसबाट सरकार बनाउने प्रस्ताव आएको बताए ।

‘कांग्रेसबाट सरकार बनाउन पहिलोपटक प्रस्ताव आएको छ, यसबारे हामीले पार्टीमा छलफल गर्नुपर्नेछ,’ उनले भने ।

पार्टीका नेताहरूलाई लगाइएका मुद्दा फिर्ता लिनेबारे प्रधानमन्त्री ओलीसँग पनि कुराकानी भइरहेको उनको भनाइ
थियो ।

‘मुद्दा फिर्ता लिन प्रधानमन्त्री ओलीजीसँग पनि कुरा भइरहेको छ, देउवाले पनि ती माग पूरा गर्छु भन्नुभएको छ,’ उनले भने ।

कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे पार्टीमा छलफल हुनै बाँकी रहेको अध्यक्ष ठाकुरको भनाइ थियो । जसपामा ओलीलाई नै समर्थन गर्ने कि देउवालाई सहयोग गर्ने भन्नेबारे दुई धार देखिएको छ ।