सिंगटी हाइड्रोको आईपीओ २ लाख ६९ हजार ७ सयले १० कित्ताका दरले पाए

२७ चैत्र, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ आज बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो । आईपीओ कुल २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले हात पारेका छन् ।

कम्पनीले गत चैत्र ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट गरिएको हो । आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० ले आईपीओ पाएनन् ।

कम्पनीले दोलखामा २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको हो । उक्त आयोजनाको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रु २२ करोड हुने छ ।
आईपीओको नतिजा मेरोशेयर, सिडीएसले आईपीओ नतिजाको लागि तयार पारेको नयाँ वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ ।