सार्वजनिक मञ्चमै देउवा र पौडेलको जुहारी

२७ चैत्र, काठमाडौं । नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक मञ्चमै जुहारी खेलेका छन् ।

आज नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रियभेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलले जोखना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेको बताए ।

सभापति देउवाले त्यसको खण्डन मात्र गरेनन्, संख्या नपुगेसम्म अघि नबढ्ने जानकारी गरे । यदि अरु अगाडि बढ्न तयार भए स्वीकार गर्ने पनि उनले बताए ।
वरिष्ठ नेता पौडेलले एमाले र माओवादी केन्द्र बन्नु अगाडि नै नेतृत्वले सरकार गठनको अवसर गुमाएको बताए । उनले अघि भने, ‘जोखाना हेर्दाहर्दै एउटा चान्स मिस  गर्‍यो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रको  भर्‍याङ चढेर सर्वसत्तावादको धुरीमा पुग्न चाहेको भन्दै उनले यसबाट मुक्ति दिनसक्नुपर्ने बताए । ‘चुनाव चुनाव मात्र भनेर सुख पाइँदैन । निरंकुशतातिर गएको सत्ताका लागि विकल्प खोज्न उदार बन्नुपर्छ’ ओलीले भने, ‘विकल्प खोज्नका लागि उदार भएर सहमति सम्झौता गर्नुपर्छ ।’

त्यसपछि बोलेका सभापति देउवाले पौडेलको भनाइको खण्डन गरे । कांग्रेससँग संसदको एक चौथाई संख्या पनि नभएको भन्दै पौडेले भने, ‘कम्युनिस्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर मैले भनेकै हो ।
आफूले प्रधानमन्त्री दिँदा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर गएको उनले बताए ।
देउवाले अघि भने, ‘बल्ल थाहा पाए प्रचण्डले । उसबेला मैले प्रधानमन्त्री हुनुस् भन्दा नमानेको । खुट्टै नटेक्ने मान्छे, अहिले ओलीको लात खाएपछि ठीक भएको छ ।’

अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुस् भने पनि (सरकार गठनका लागि चाहिने) संख्या नपुगेको उनले बताए । आफूले म नै प्रधानमन्त्री हुनुपर्छ नभनेको भन्दै देउवाले भने, ‘म संख्या नपुग्ने खेलमा छैन । कसैलाई बनाएर हुन्छ भने म तयार छु ।’
गलत सम्झौता नगर्ने उनले बताए । सरकार बने राम्रै हुने बताएका देउवाले चुनावबाहेक अर्को बाटो उचित नहुने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताएका छन् ।