बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई आफ्नै राजदूतावासभित्र प्रवेश रोक

बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नै राजदूतावासभित्र प्रवेश रोकिएको छ।

फेब्रुअरी १ मा म्यानमारमा भएको सैनिक कूको विरोध गरेका र प्रजातन्त्रवादी नेता आङ सान सुचीलगायतको रिहाइ माग गरेका राजदूत मिनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई  दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै राखिएको बताएका छन्।

उनले यसलाई पनि सैनिक कूको निरन्तरता भनेका छन्। दूतावासका अरू कर्मचारीहरू भित्रै रहेका बेला आफूलाई घन्टौंसम्म पनि प्रवेश नदिइएको उनले बताए। स्रोतलाई उद्धृत गर्दै सिएनएनले सैनिक सहचारीले दूतावासलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ।

‘यसबारे प्रतिक्रिया लिन खोज्दा दूतावासको फोन नउठेको र इमेलमा पनि जवाफ आएन,’ सिएनएनले भनेको छ।

बुधबार राजदूत मिनको समर्थनमा केही मानिसहरूले दूतावासअगाडि प्रदर्शनसमेत गरेका थिए।

बेलायतको विदेश मन्त्रालयले म्यानमारी दूतावासमा भइरहेको घटनाबारे विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।

यसअघि संयुक्त राष्ट्रसंघका लागि म्यानमारमा राजदूतले पनि सेनाले गरेको कूको विरोध गरेका थिए।

गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको दाबी गर्दै म्यानमारको सेनाले फेब्रुअरी १ मा कूमार्फत् सत्ता हत्याएको थियो। त्यसपछि प्रजातन्त्र पुनर्वहालीका लागि भएका प्रदर्शनमा उसले निर्ममतापूर्वक दमन गरिरहेको छ। सैनिकको गोली लागेर अहिलेसम्म झन्डै ६ सय म्यानमारीको मृत्यु भइसकेको छ भने हजारौं विस्थापित भएका छन्।