गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीद्धारा राजीनामा

२५ चैत, कास्की । गण्डकी प्रदेश एमाले नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन् ।

राजीनामा पत्र बुझाउँदै माओवादी केन्द्रका गण्डकी प्रदेश सभा संसदीय दलका नेता समेत रहेका चुमानले फेरि सहकार्यको बाटो खुलोस् भनेका थिए । ‘हामीले भन्दा पनि माथिबाटै निर्णय भएर राजीनामा बुझाएका हौं’, मन्त्री चुमानले राजीनामा पत्र बुझाउँदै भने, ‘हामी अझै पनि सहकार्य गरेर नै अघि बढ्ने वातावरण बनोस् ।

जवाफमा मुख्यमन्त्री गुरूङले प्रदेश सरकारमा रहँदा राम्रो सहकार्य भएको भन्दै माओवादी पार्टीबाट मन्त्री बनेका चुमान र थापा दुबै जनाले राम्रो काम गरेको बताए। ‘तपाईहरुले राम्रो काम गर्नुभएको थियो’, मुख्यमन्त्रीको भनाई उदृत गर्दै सचिवालय सदस्यले भने, ‘बरु एमालेकै मन्त्रीसँग बेलाबखत रिसाउनुपरेको थियो, तपाइहरुसँग त्यस्तो कहिल्यै
भएन ।

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिए पनि संसदको अंकगणितमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बहुमतमै देखिएका छन् । माओवादी सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता गरिसकेको छैन ।

प्रदेश सभामा रहेको ६० जना सांसद मध्ये एमालेको मात्रै २८ जना सांसद छन् । ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्दासम्म प्रदेश सरकार बहुमतमै रहन्छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई एमालेकै १ जना सांसदबाट खतरा देखिएको छ । एमालेभित्रको अन्तरद्वन्द्वमा माधव नेपाल पक्षमा रहेका सांसद इन्द्रलाल सापकोटाले कता समर्थन गर्छन् भन्नेमा मुख्यमन्त्री गुरुङको सरकार अल्पमतमा पर्ने वा नपर्ने निर्धारण गर्छ । सांसद सापकोटाले भने त्यसबारे सोच्ने समय नआएको बताए ।