Breaking News

बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश

२५ चैत, काठमाण्डौ । सरकारले भक्तपुरमा लाग्ने बिस्का जातालाई रोक लाएपछि त्यस बिरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो । सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो ।

यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरिसकेको थियो। बिस्काः जात्रा चैत २८ बाट हुँदैछ ।

नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो ।

भक्तपुरका नगर प्रमुख सुनील प्रजापतिले विगतका दिनदेखि नै भक्तपुरले बिस्काः जात्रासँग सम्बन्धित दाफा, भजन, गुठी लगायत सरोकारवालासँग नियमित छलफल गरी निर्णय गर्दै आएको बताउँदै भने, ’यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्नेछौं ।

छिमेकी देश भारतमा कोरोनाको नयाँ प्रजातिले महामारीको रूप लिएको र केही स्थानमा कर्फ्यू समेत लगाइसकेको अवस्थामा नेपाल–भारतबीचको खुला सीमाका कारण संक्रमण जोखिम रहेकाले सबै सचेत रहनुपर्ने चर्चा भयो । जसकारण कोरोना जोखिमलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले जात्रा सञ्चालन गर्ने निर्णय भएको छ ।