प्रशु शाहको सांसद पद खारेजी हुने भएपछि प्रचण्डबिरुद्ध आक्रमण

२५ चैत, काठमाण्डौ । अदालतको फैसलाले एकीकृत भएर बनेको नेकपा लाई खारेज गरी साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्र लाई ब्यूताएपछि नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रत्यक्ष निर्वाचित ४ जना सांसद एमालेमा गएपछि उनीहरुको सांसद पद खारेज गर्न नेकपा माओवादीले संसद सचिवालयलाई पत्र पठाएपछि माओवादी त्यागेर प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका सहरी विकास मन्त्री प्रभु साह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’माथि खनिएका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा भएको बताएका छन् ।

उनले आफूले चुनाव जित्न एमालेसँग सहकार्य गर्ने प्रचण्डले कथित दल त्यागको निहुँमा कानुनी डन्डा चलाउन नसुहाउने तर्क गरेका छन् ।

आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता÷सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराखÞ्नेहरूले हामी साझा घोषणा–पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन,’ साहले लेखेका छन्,‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् ।

उनले प्रचण्डको यो निर्णय प्रतिगामी कदम भएको पनि जिकिर गरेका छन् ।
अर्थात् रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यताविपरीत प्राविधिक÷कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रूपमा क्रियाशील सांसदहरूको पदमाथि यसरी अनुचित रूपमा हमलाको दुस्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो,’ साहले लेखेका छन् ।

साह तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विवाद उत्कर्षमा पुग्दा अन्तिमसम्म प्रचण्ड–माधव नेपाल समूहमै थिए । उक्त समूहले उनकै गृहजिल्ला रौतहटका नेपाललाई पार्टी अध्यक्ष बनाएपछि उनी ओली समूहमा लागेका थिए । आफ्नो समूहमा आएका साहलाई ओलीले मन्त्री बनाएका थिए ।

मंगलबारमात्रै माओवादी केन्द्रले साहसहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद खारेज गर्न संसद सचिवालयमा पत्र पठाएको थियो ।