कर्णाली प्रदेश सरकारबाट राजनीनामा दिंदै एमाले मन्त्रीहरु

२२ चैत्र, सुर्खेत । केन्द्रको राजनीनिले नयां मोड लिन थालेपछि प्रदेश सरकारमा पनि त्यसको असर पर्दै गएको छ । कर्णाली प्रदेशमा माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । आज बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् ।

एमालेको केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । तर नेपाल समूहले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएको थियो भने मन्त्रीहरु पनि सरकारमै थिए ।

नयाँ निर्णयअनुसार तीन मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३ सांसद मध्ये एकजना एमाले प्रवेश गरेका छन् ।

सबभन्दा ठूलो दल एमालेका २० सांसद छन्, जसमध्ये राजबहादुर शाही सभामुख छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।

एमाले संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री शाहीलाई आग्रह पनि गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

बैठकले शाहको नेतृत्वमा संसदीय दल विधान मस्यौदा कार्यदल समेत बनाएको छ ।