२२ चैत्र, काठमाण्डौ । आज काठमाडौंमा एमाले माधव पक्षले आयोजित कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले विचार र इतिहासले आफ्नो समूह आधिकारिक एमाले भएको जिकिर गरेका छन् । उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको भन्दै आधिकारिकता दावी गरे ।
नेता नेपालले कब्जा गर्नु बेग्लै कुरा हो । विचार र इतिहासले निर्देशित गर्ने बेग्लै हो’ उनले भने, ‘हामी आधिकारिक हौं, विचारले, सिद्धान्तले र इतिहासले पनि यही भन्छ ।’ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्दैमा नहुने पनि बताए । ‘केपी ओलीले फाले फालिने मान्छे हो ? उनले ल्याएर आएका हौं ?’ उनले भने ‘हामीले आन्दोलनको निर्माण गर्दै यो पार्टीलाई विशिष्ट ठाउँमा पु¥याएका हौं ।
नेता नेपालले प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेको आधारमा फूर्ति लगाइरहेको भन्दै भने ‘त्यो फूर्तिको काम छैन ।’
पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको बताएका छन् । उनले पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा बहुमत आफूहरुको रहेको तर अध्यक्ष केपी शर्मा ओलीले गुट भेला मात्र गरिरहेको बताएका छन् ।
संख्यात्मक कुरा गर्छ भने, संगठनको हिसाबले पनि हामी कमजोर छैनौं’ उनले भने । नवौं महाधिवेशनबाट निर्वाचित १५ पदाधिकारीमध्ये १० जना आफूहरुतर्फ र ५ जना अध्यक्ष ओलीको पक्षमा रहेको नेता नेपालले बताए ।
२२ स्थायी कमिटी सदस्य मध्ये आफूहरुतर्फ १२ र अध्यक्ष ओलीतर्फ १० जना, पोलिट्ब्युरो कमिटीका ४४ मध्ये आफूहरुतर्फ २४ र ओलीतर्फ २०, केन्द्रीय कमिटीमा ओलीतर्फ ९२ र आफूहरुतर्फ ९७ जना रहेको नेता नेपालले बताए ।