माधव पक्षले भोलि संगठानात्मक संरचना घोषणा गर्ने

२० चैत्र, काठमाण्डौ । नेकपा एमाले खनाल–नेपाल नेतृत्वको आज काठमाण्डौको कलंकीमा बसेको बैठकले समानान्तर रूपमा संगठन विस्तार र पार्टी सुदृढीकरण अभियान चलाउने भएको छ ।

बैठकले गत चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्तामाझ लैजाने, संगठन विस्तार र सुदृढीकरण अभियानलाई अगाडि बढाउने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार शनिबार बैठक बसेर अभियानबारे विस्तृत जानकारी र कार्यक्रम घोषणा गर्ने निर्णय बैठकले गरेको
छ ।

यस्तै आजको बैठकमा पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको बैठकले विरोध गरेको नेता भिम रावलले जानकारी दिए ।

केपी ओलीले पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरीत र पूर्वाग्रह राखेर कारबाही गरेको भन्दै नेता रावलले यसबाट केपी ओली एमालेलाई विभाजित गर्न उद्दत भएको पुष्टि हुने बताए ।

त्यस्तै एमाले ब्युँतिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै कार्यान्वयन गर्न आग्रह गरेको उनले बताए ।