८ महिनाको अवधिमा  प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थपियो

चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनाको अवधिमा  प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सरकारले चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुनसम्म) को अवधिमा कुल १ खर्ब ९२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सार्वजनिक ऋणको सावाँ र व्याज भुक्तानीमा ३८ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।

यसआधारमा हेर्दा चालु आवको पहिलो ८ महिनामा खुद सार्वजनिक ऋण थप १ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ भएको
छ । यो ऋणलाई प्रत्येक नेपालीको टाउकोमा भाग लगाउँदा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थप भएको हो । नेपालको जनसंख्या ३ करोड मान्दा यसअवधिमा प्रत्येक नेपालीको टाउकोमा उक्त परिमाण बराबरको ऋण थप भएको हो । वर्तमान सरकार आएसँगै आर्थिक स्रोतको महत्वपूर्ण माध्यमका रुपमा सार्वजनिक ऋण परिचालन भएको देखिएको छ ।

१५ खर्ब ७३ अर्ब रुपैयाँ सार्वजनिक ऋण

अर्थ मन्त्रालयको तथ्यांक अनुसार २०७७ असार मसान्तसम्म खुद तिर्न सार्वजनिक ऋण १४ खर्ब १९ अर्ब ८८ करोड रहेको थियो । चालु आवको ८ महिनाको अवधिमा १ खर्ब ५३ अर्ब ऋण थपिएसँगै अब नेपालको खुद सार्वजनिक ऋण भने १५ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

यो ऋणलाई जनसंख्याको अनुपातमा हिसाब गर्दा प्रतिव्यक्ति ऋण ५२ हजार ४ सय ५२ रुपैयाँ पुगेको छ । सरकारले असार मसान्तसम्म आन्तरिक ऋण ६ खर्ब १३ अर्ब ७४ करोड लिएकोमा चालु आवको ८ महिनामा १ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ ऋण लिएको छ ।

८ महिनामा आन्तरिक ऋणको सावा फिर्ता भुक्तानीमा ८ अर्ब २२ करोड र ब्याज भुक्तानीमा १५ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । असार मसान्तसम्म बाह्य ऋण ८ खर्ब ६ अर्ब १४ करोड रुपैयाँ रहेकोमा ८ महिनाको अवधिमा ७९ अर्ब ९० करोड ९१ लाख रुपैयाँ बाह्य ऋण थपिएको छ । यस अवधिमा वैदेशिक ऋण फिर्ता १२ अर्ब ५ करोड र ब्याज भुक्तानीमा ३ अर्ब ४८ करोड रुपैयाँ भएको छ ।

यस्तो छ नेपालको सार्वजनिक ऋण

क्र.सं २०७७ असार मसान्तसम्म चालु आवको फागुन मसान्त सम्म थप चालु आवको फागुन मसान्त सम्म सावा र ब्याज फिर्ता चालु आवको फागुन मसान्त सम्म खुद
आन्तरिक ऋण (रुपैयाँ) ६ खर्ब १३ अर्ब ७४ करोड १ खर्ब १२ अर्ब ५१ करोड २३ अर्ब ३१ करोड ७ खर्ब २ अर्ब ९४ करोड
बाह्य ऋण (रुपैयाँ) ८ खर्ब ६ अर्ब १४ करोड ७९ अर्ब ९० करोड १५ अर्ब ४० करोड ८ खर्ब ७० अर्ब ६४ करोड
कुल (रुपैयाँ) १४ खर्ब १९ अर्ब ८८ करोड १ खर्ब ९२ अर्ब ४२ करोड ३८ अर्ब ७१ करोड १५ खर्ब ७३ अर्ब ५८ करोड

एक वर्षमा ५ खर्ब २४ अर्ब ऋण लिने लक्ष्य

सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब २४ अर्ब ५० करोड सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । यो वर्ष सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट कार्यान्वयन गरिहेको छ । यसमा संघीय बजेटका लागि राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ परिपूर्ति हुनेछ । न्यून हुने ५ खर्ब २४ अर्ब मध्ये ६० अर्ब ५२ करोड वैदेशिक अनुदान, २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण र २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट परिपूर्ति गर्ने लक्ष्य चालु आवको बजेटले लिएको छ ।

अनलाइनखबरबाट