सहमति सँगै फोहोर उठ्यो

२० चैत्र,काठमाडौँ । काठमाडौँ महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच भएको सहमतिले आजै बाट अवरोध खुला गर्ने निर्णय भएको छ । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै चैत्र १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।

फोहोर विसर्जनमा अवरोध भएपछि आज काठमाडौँ महानगरपालिकाका प्रमुख सहितको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिवद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खोल्न उनीहरु सहमत भएका हुन ।
छलफलका क्रममा उनीहरुका माग सम्बोधनका लागि प्रमुख शाक्यले प्रभावित क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थ क्षेत्रका लागि राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले केही मागका बारेमा थप छलफल गरी थप व्यवस्थित ढंगले अघि बढ्न सकिने पनि जानकारी दिए । छलफलमा उनले आफूहरुले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने प्रतिबद्धता गरे । स्वास्थ्य सम्बन्धिका बुँदामा अझै छलफल गरी अघि बढ्न सकिने उनको भनाई छ । प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौँको अस्पतालमार्फत सेवा उपलब्ध गराउने हो त्यो विषयमा प्रष्ट धारण बनाएर आउन पनि उनले आग्रह गरे ।

धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौँले पूर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंशा गरे । उनले स्थानीय स्तरका समस्या संस्थागत रुपमा आउनु पर्नेमा जोड दिँदै त्यसो भयो भने मात्रै संघीयताले स्थानीय सरकारलाई दिएको अधिकारले सार्थकता पाउने बताए ।

छलफलमा सहभागी ककनी गाउँपालिका वडा–३ का अध्यक्ष घननाथ बजगाईँले फोहोर विसर्जनको अवरोध हटेको जानकारी दिए । ‘प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि काठमाडौँ महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने,जग्गा अधिग्रहणका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउने, लगायतका सहमतिपछि फोहोर विसर्जनको अवरोध हट्दै आजैबाट फोहोर उठ्छ ।’

काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा तीन–तीन करोड व्यवस्था गर्ने, धुनीबेंसी नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिने लगायतका विषयमा भएको सहमतिलाई अन्तिम रुप दिई सहमतिमा हस्ताक्षर गर्ने बताए । दुई दिनअघिको छलफलमा प्रमुख शाक्यले प्रभावित क्षेत्रका विद्यालयको लागि ५१ जना शिक्षकको दरबन्दी माग गरेको भन्दै त्यो मागप्रति सकारात्मक बनी नेपाल सरकारबाट स्थायी दरबन्दीपछि स्वतः हट्ने गरी तत्कालका लागि उनीहरुले व्यवस्था गरेको अस्थायी दरबन्दीका ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी दुई दिनअघि नै भएको छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा तीन–तीन करोड व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण, १५ वटा बेड र चारजना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव राखेका छन् ।