चीनद्धारा अमेरिकालाई भेन्टिलेटर उपलब्ध

कदर समाचार
२३ चैत, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरले अमेरिकामा पनि महामारीको रुप लिएपछि चीनले अमेरिकाको सबैभन्दा बढी कोराना प्रभावित राज्य न्युयोर्कका लागि १ हजार थान भेन्टिलेटर उपलब्ध गराएको छ। न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन् ।
चीनबाट पठाइएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि अहिलेसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले जनाएको छ । कोरोनाको संक्रमणदर उच्च भएपछि न्युयोर्कमा भेन्टिलेटरको अभाव छ । यही अभावबीच चीनले भेन्टिलेटर उपलब्ध गराएपछि न्युयोर्क राज्यलाई राहत मिलेको छ ।
अमेरिकी केन्द्र सरकारबाट समेत थप एक सय ४० भेन्टिलेटर उपलब्ध हुने गभर्नर कुमोले बताएका छन् । कोरोना भाइरससम्बन्धी आफ्नो दैनिक ब्रिफिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सिटीका लागि आवश्यक सबै स्रोत र साधन उपलब्ध गराइने बताएका थिए ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार, न्युयोर्क सिटीमा संक्रमण दर पनि ह्वात्तै बढेको छ । पछिल्लो तथ्यांक अनुसार, यो राज्यका मात्रै एक लाख १३ हजार मानिस कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् ।
यो संख्या झण्डै इटालीभर फेला परेको कोरोना संक्रमितको संख्याभन्दा मात्रै ११ हजार छ सय ३२ ले कम हो । न्युयोर्क स्टेटका गभर्नर एन्ड्रिउ कुमोले ४ र १४ दिनमा संक्रमण थप बढ्ने बताएका छन् ।
कोरोनाको इपिसेन्टर बनेको अमेरिकाका तीन लाख मानिसमा कोरोनाको संक्रमण भेटिएको छ भने झण्डै आठ हजार मानिसको ज्यान गएको छ । न्युयोर्कमा एकैदिन छ सय ३० जनाको ज्यान गएको छ ।