छोरीलाई जिस्काएको झोकमा युवकको टाउको काटेर हत्या

गत बिहीबार बिहान साढे ८ बजे सर्लाहीमा एक युवकको टाउको नै काटिएको अवस्थामा शव फेला पर्‍यो।

मलंगवा नगरपालिका-९ पचगछिया चौरीस्थित नागेश्वर रायको खेतमा शव फेला परेको हो। शवको टाउको भने थिएन। स्थानीयले शव देखेपछि तत्कालै प्रहरी बोलाए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली घटनास्थल पुग्यो। जिउ भेटिएको स्थान भन्दा करिब ६० मिटर टाढा दक्षिणमा टाउको पनि भेटियो।

केहीबेरमै प्रहरीले मृतकको सनाखत गर्‍यो। उनी मलंगवा-१० का २५ वर्षीय  सुशीलकुमार यादव थिए।

घटनासम्बन्धी अनुसन्धान गरेपछि प्रहरीले सोही दिन दुई जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा मलंगवा-१० कै ४५ वर्षीय विमलकान्त पाठक र भारत बिहारस्थित सीतामढीका ४१ वर्षीय अशोक झा थिए। अशोक झा विमलकान्तका भान्जा हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार सुशीलकुमार यादवको अघिल्लो रात अर्थात् बुधबार राति ११ बजे नै हत्या भएको थियो।

बुधबार राति ८ बजे विमलकान्त र भान्जा अशोक झा मलंगवा-१० को जिविस चोकस्थित कुन्दन यादवको शिवम होटलमा गएका थिए। उनीहरू दुबै जना रातो रंगको अन-टेष्ट मोटरसाइकल चढेर होटल पुगे।

त्यहाँ उनीहरूले रक्सी, मासु र चना खाए। तर पैसा तिरेनन्। आफ्नो खातामा लेख्नु भनेर उनीहरू त्यहाँबाट ९ बजे निस्किए।

त्यहीबेला सुशीलकुमार यादव साइकल चढेर आइरहेका थिए।

विमलकान्तले सुशीलकुमारलाई देखेपछि भनेछन्,’तिमीसँग काम पनि छ। गाँजा पनि खानुपर्छ जाऊँ।’

त्यसपछि सुशीलकुमारले आफ्नो साइकल शिवम होटलमा काम गर्ने आफ्नो ११ वर्षीय सहोदर भाई शिवम यादवलाई दिए। र उही मोटरसाइकल चढेर विमलकान्तको घर गए।

घर गएर तीनै जनाले लागुऔषध सेवन गरे।

विमलकान्तकी श्रीमती लिला देवीले खाना पस्केपछि उनीहरू तीनै जनाले सँगै बसेर खाना समेत खाए। विमलकान्तका चार जना छोरी पनि छन्।

उनीहरू खाना खाएर आ-आफ्नो कोठामा सुत्न गएपछि फेरि तीनै जनाले लागुऔषध सेवन गरे।

विमलकान्त र अशोकले सुशीललाई लागुऔषध खुवाएर लठ्याए। विमलकान्तले भने उनको हत्या गर्ने पूर्वयोजना नै बनाइसकेको डिएसपी कुँवरले बताए।

‘सुशीलले ६ महिनाअघि विमलकान्तको घरमा चोरी गरेको रहेछ। हत्या गरेको केही दिन अघिमात्रै पनि चोरी गरेको थियो। त्यही कुरामा उनीहरूबीच पटकपटक झगडा हुने गर्थ्यो। त्यसैले मार्ने योजना बनाएका रहेछन्,’ उनले भने।

सुशीलकुमारलाई लठ्ठ बनाएपछि उनीहरूले प्लास्टिकको लामो डोरी लिएर गाई गोठमा लगे। डिएसपी कुँवरका अनुसार सुशीलकुमारलाई लडाएर हात खुट्टा र जिउसमेत बाँधे। उनको मुखमा पनि गम्छाले बाँधिदिए।

‘उनीहरूले सुशीललाई बोकेर खेततिर लगे। उनीहरूले खुकुरी पनि बोकेका थिए,’ डिएसपी कुँवरले भने,’त्यहाँ पुर्‍याएर अशोकको घुँडाले सुशीलको पेट र छातीमा थिचे विमलकान्तले घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरे।’

उनका अनुसार हत्या गरेपछि विमलकान्तले खुकुरीमा लागेको रगत पुछेर घरमा लगेर लुकाए।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार सुशीलकुमारले विमलकान्तकी छोरीलाई जिस्काएको कारण हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्।

‘उनीहरूले चोरीको कारणभन्दा पनि पारिवारिक खटपटले नै हत्या गरेका रहेछ। मृतकले विमलकान्तकी छोरीलाई ३-४ महिनादेखि नै जिस्काउँदो रहेछ। गिद्धे नजर लगाएको कारणले हत्या गरेको बुझियो,’ ती अधिकृतले भने,’चोरीकै कारणमात्रै होइन।’

सुशीलकुमारको हत्या गरेपछि उनीहरूले आफूमाथि शंका नगरोस् भनेर नियमित काममै लागे।

शव भेटिएपछि आफ्नो नियमित काममा जाँदै गरेका उनीहरूलाई मालपोत कार्यालयबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘उनीहरूमाथि शंका नगरोस् भनेर भोलिपल्ट नियमित काममै गएछन्। मालपोत कार्यालयबाट हामीले उठायौं,’ डिएसपी कुँवरले भने।

थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत सर्लाहीबाट उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ। ‍

सेतोपाटीबाट