लकडाउन थप कडा एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा जान नपाइने

कदर समाचार
२२ चैत, काठमाडौं । कोरोना भाइरसका संक्रमति थप एकपछि अर्को गर्दै बढ्न थालेपछि सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।
कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरण अन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।
सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी
दिएका छन् ।