ललितपुरमा घरमा पालिएका पन्छीमा बर्डफ्लुको संक्रमण

१७ चैत्र, काठमाण्डौ । ललितपुरमा घरमा पालिएका पन्छीमा बर्डफ्लुको संक्रमण भेटिएको छ ।

ललितपुर महानगरपालिका–१४ का किसानले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु देखिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरले जानकारी दिए ।

रोग पुष्टी भएका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ गोटा अण्डा र ३३५ केजी दाना नष्ट गरिएको उनले बताए ।

‘त्यस क्षेत्रमा भेटिएको सबैलाई नष्ट गरी निसंक्रमित समेत गरिसकिएको छ,’ उनले भने ।

मन्त्रालयले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटनरी प्रमाण पत्र लिनुपर्ने बताएको छ ।

कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्न मन्त्रालयले आग्रह गरेको छ ।