Breaking News

कोरोनाभाइरसको संक्रमण बढ्दै गएको हुनाले शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ । हिजो शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ ।

वर्तमान परिस्थितिमा सम्वन्धित सबै सरोकारवालाहरूले सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्नुपर्ने धारणा मन्त्रालयको रहेको प्रवक्ता दीपक शर्माले जारी गरेका छन् ।

‘सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्नुहुन, शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउन हुन अनुरोध गरिन्छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालय सम्वद्ध सबैमा हार्दिक अनुरोध गर्दछ ।’

मन्त्रालयले विद्यालयहरूले दैनिक पठनपाठन सञ्चालन गर्दा भीडभाड नहुनेगरी गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।