एमाले माधव पक्षीय सांसदहरु ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार जाने

१३ चैत, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा नेता माधवकुमार नेपाल पक्षका सांसदहरू प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन् ।

नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकमा जाने तयारी भइरहेको बताए । त्यसअघि नेपाल पक्षका सांसदको छुट्टै छलफलको तयारीसमेत भइरहेको पाण्डेले बताए ।

बैठकमा सबै जना जाने कुरा भएको छ’, पाण्डेले भने, ’बैठकमा सहभागी हुने विषयमा यसअघि पनि कुराकानी भएको
हो । तर त्यतिबेला भेला भएकाले जान भ्याइएन । बैठकमा सहभागी हुने कुरालाई हामीले सामान्य ढंगले लिएका छौं । तर बाहिर ठूलो विषय बनाइएको छ ।

पाण्डेले धेरैजसो दलका सदस्यहरूको बैठक सिंहदरबारमा गरेको भए हुने भन्ने मत रहेको बताए ।

चैत ५ गते कार्यकर्ता भेला भएकाले गइएन । त्यसपछिको ७ गते नेताहरूले विधि पद्धतिको कुरा गरेकै कारण गइएन, त्यतिबेला मागपत्र लैजाने र बैठक बालुवाटार बाहिर गर्नुपर्छ भन्ने कतिपय नेताहरुको चाहना थियो’, पाण्डेले भने, ’कोही नेताहरू अझै स्पष्टिकरण लेख्दै हुनुहोला। कतिपयले बुझाउन जानुहोला ।

पाण्डेले आफ्नो पक्षका नेता माधव कुमार नेपाल संसदीय दलको बैठकमा उपस्थित हुने नहुने केही खुलाएनन् ।

’थाहा छैन के गर्नुहुन्छ’, नेता नेपालले भने ।

नेपाल पक्षका स्थायी समिति सदस्यसमेत रहेका सांसद योगेश भट्टराईले पनि बालुवाटारको बैठकमा आफूहरू सहभागी हुने बताएका छन् ।