१२ चैत, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई समूहले आज छुट्टाछुट्टै बैठक गर्दैछन् । झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।
उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ ।
उता अध्यक्ष ओलीले भने आजै संसदीय दलको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउंसो ३ बजेका लागि बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।
बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा कुराकानी हुन्छ’, भट्टराईले भने ।
बालुवाटारमा हुने संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने खनाल–नेपाल समूहले बताएको छ ।
हिजो सांझ खनाल–नेपाल समूहका ४ जना नेताहरूले अध्यक्ष ओलीले मागेको स्पष्टिकरणको जवाफ दिएका थिए ।