Breaking News

एक महिनापछि गाडिएको अवस्थामा शव फेला

१२ चैत्र, जनकपुरधाम । एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ ।

पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताएका छन् ।

‘ठूलै खाल्डो खनेर शव पुरेको रहेछ’ उनले भने, ‘झा दम्पतीको घरभन्दा झण्डै साढे ३ किलोमिटर दूरीमा शव फेला परेको हो ।’
खाल्डो खनेर निकालिएको शवको दम्पतीको छोरा बुहारीले सनाखत गरेका छन् । गीतादेवीले लगाएको कपडा, पोते र चुराले उनको पहिचान भएको छ । भने मुसाफिरले लगाएको टिसर्टले उनको पहिचान भएको प्रदेश प्रहरी सिंहले बताए ।

यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका छन् ।

उनीहरुविरुद्ध चैत्र ५ गते झाको परिवारले अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको थियो ।