राष्ट्रिय ध्वजाबाहेक विमान बेलायत, जर्मनी र क्यानडा उड्ने

कदर समाचार
२२ चैत, काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो ।
निगमका अपरेसन विभाग प्रमुख दिपु जहार्चनले लण्डन, फ्राङ्कफर्ट र क्यानडा उडानको प्रारम्भिक तयारी भइरहेको जानकारी दिए ।
‘युरोपका मुख्य गन्तव्यमा चार्टर्ड उडानको प्रारम्भिक तयारीमा जुटेका छौं, अबको सातदेखि १० दिनभित्र निगमको वाइडबडी जहाज बेलायत, जर्मनी र क्यानडा पुग्छन् । निगमको यी गन्तव्यको उडान भने व्यवसायिक नभई चार्टर्ड उडान हो । सम्बन्धित मुलुकले निगमको ‘प्रावधान’ स्वीकारेमा १० दिनभित्र ती मुलुकमा उडान भरिने प्रमुख जुहार्चनको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि लण्डन गन्तव्यमा करिब साढे १२ घण्टाको उडान भर्नुपर्ने हुन्छ ।
निगमले सुरूमा बोइङ ७६७ जहाजमार्फत् लण्डन, पेरिस र फ्राङ्फर्ट उडान गरेको थियो ।
जहाज अभावलगायत कारण देखाउँदै बीचमै सेवा रोकेको थियो । निगमले वि.स. १९८८ मा युरोपका गन्तव्यमा उडान भरेको थियो । युरोपका ती गन्तव्यमा दुबई भएर उडान गरिन्थ्यो । यसअघि निगमले आफ्नो उड्डयन इतिहासमै पहिलो पटक लामो गन्तव्यको अस्ट्रेलियाको सहर ब्रिस्बनमा चार्टर्ड उडान गरेको थियो । निगमको वाइडबडी जहाजले चैत १९ मलेसियाको क्वालालम्पुर हुँदै ब्रिस्बनसम्मको करिब १३ घण्टाको उडान यात्रा गरेको थियो ।
अहिले कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिड–१९ को संक्रमण फेला परेपछि सरकारले चैत ११ देखि २५ सम्म देशभर लकडाउन गरेको छ । वैशाख ३ गतेसम्म सबै आन्तरिक र अन्तर्रा्ष्ट्रिय उडान बन्द गरिएको
छ । यस्तो परिस्थितिमा निगमले औषधीजन्य सामग्री ढुवानीका लागि कार्गो उडान तथा विदेशी नागरिकलाई उनीहरूको मुलुकसम्म लैजानका लागि चार्टर्ड उडान गरिरहेको छ ।
निगमले साता दिनभित्रै श्रीलंकाको कोलम्बो उडान भर्ने तयारी गरेको छ भने अबको १० दिनभित्र युरोपमका महत्वपूर्ण गन्तव्यमा चार्टर्ड उडान गर्ने भएको हो । त्यस्तै चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा पनि उडान भर्ने योजना बनाइएको निगमले उल्लेख गरेको छ । यसअघि निगमको वाइडबडी जहाजले चैत १६ गते र शुक्रबार बिहान दुई चार्टर्ड उडानमार्फत् चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री ल्याएर फर्किएको थियो । हाल दुई वाईडबडी ए–३३० र दुई थान न्यारोबडी ए—३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।