६ चैत, पोखरा ।नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओली अहंकारी र अयोग्य भएका बताएका छन्। प्रधानमन्त्री ओली अंकारी र अयोग्य भएकाले नै अहिलेको राजनीतिक संकट आएको उनले बताए।
‘अयोग्य मान्छे अहंकारी भयो भने समस्या हुन्छ। अयोग्य मान्छे जब अहंकारी हुन्छ, उसले आफूसँग भएको अयोग्यताको कारणले भएका ग्यापहरु देख्दै देख्दैन। आफूलाई नै सम्पूर्ण ठान्छ, जसको कारणले समस्या आएको हो। प्रधानमन्त्री अयोग्य र अहंकारी भएकै कारण पाएको जिम्मेवारी सहि ढंगले निर्वाह गर्न सक्नुभएन,’ उनले भने।
नेकपाले ५ बर्षको निम्ति सरकार चलाउने म्याण्डेट पाएको र नेपाली कांग्रेसले ५ बर्ष प्रमुख प्रतिपक्षीको भुमिका खेल्ने म्याण्डेट पाएको उनले बताए। म्याण्डेट विपरित नेकपाले आप्mनो जिम्मेवारी पुरा गर्न नसकेको थापाले बताए।
पाएको जिम्मेवारी पुरा गर्न नसक्दा लाज र अप्ठ्यारो लाग्नुपर्ने भएपनि प्रधानमन्त्री ओलीले कुनै संकोच नमानेको उनले टिप्पणी गरे।
प्रधानमन्त्री ओलीबाट मात्र नभई गल्ती प्रमुख प्रतिपक्षी कांग्रेसबाट पनि भएको थापाले स्वीकार गरे।
‘प्रधानमन्त्रीलाई यो लाग्ने कुरामा उहाँकोमात्रै गल्ति छैन। हाम्रो पनि थुप्रै कमजोरी छ। हामीले प्रतिपक्षको ठाउँबाट निरन्तर जुन दबाब दिन सक्नुपर्ने हो, हस्तक्षेप गर्न सक्नुपर्ने हो, प्रश्न गर्न सक्नुपर्ने हो, हामीलाई देखेर प्रधानमन्त्री डरले थरथर डराउनुपर्ने हो। प्रतिपक्षको संख्या गनिँदैन। कति संसदमा छ भन्नेले अर्थ राख्दैन। यल्ले नागरिकको भाषा बोल्छ। जुन डर प्रधानमन्त्रीमा राख्नुपर्थ्यो त्यो राख्न सकेनौं। हामी आफैं पनि समीक्षा गर्नुपर्छ,’ उनले भने।
नेकपा जिवित भएको अवस्थामा प्रचण्ड, माधव नेपाल लगायतका लोभको कारण पनि प्रधानमन्त्री ओलीमा अहंकार बढेको उनले दाबी गरेका छन्। प्रचण्ड र माधव नेपाल अहिले सडकमा निरिह अवस्थामा देखिएको थापाले बताए।
‘मैले प्रचण्ड, माधवको हालत देखेको छु। प्रधानमन्त्रीमा अहंकार पैदा गर्न प्रचण्ड र माधव नेपालले २ तिरबाट काँध थाप्ने काम गर्नुभयो’, उनले भने, ‘किनकी प्रचण्डको मनमा पनि लोभ थियो, माधवको मनमा पनि लोभ थियो।’
प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललाई हेप्दा आफुहरुले सरोकार नराखेको बताए। तर देश र संविधानलाई नै हेप्न थालेपछि त्यसलाई रोक्न काँग्रेस अग्रसर भएको उनले बताए।
‘प्रधानमन्त्रीले उहाँहरु (प्रचण्ड र माधव नेपाल) लाई हेप्नु भो। हाम्रो चिन्ताको विषय होइन। तर, हेप्दै गर्दा देशको संविधानलाई हेप्नु भो। नागरिकको जनमतलाई हेप्नु भो। संसदलाई हेप्नु भो। व्यवस्थालाई हेप्नु भो। हामीले प्रधानमन्त्रीलाई रोक्नुपर्ने त्यसैमा हो,’ उनले भने।
संसद पुनस्थापना भएपछि प्रधानमन्त्रीले राजिनामा दिने आफुले अपेक्षा राखेपनि त्यस्तो नभएको उनले बताए। सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धी विवादमा दिएको फैसला आफुलाई गलत लागेको उनले बताए।
उनले भने, ‘अदालतले नेकपालाई तिमीहरु एउटै होइनौ, छैनौ भनिदियो। अदालतले निर्णय गरेको दिन संसदको भर्याङमा आएर बोल्ने म एक्लो मान्छे भएछु। अदालतले के निर्णय गर्यो थाहा छैन। तर मेरो ब्रह्मले यो गलत हो भन्ने लाग्यो। निवेदकले माग्दै नमागेको कुरामा फैसला भएको छ।’
नेकपाको मृत्यु हुँदा नेता र कार्यकर्ता नाच्न थालेको उनले बताए। आफूलाई चिन्ता लागेको बेला नेकपाकै नेता कार्यकर्ता नाच्न थालेको उनले टिप्पणी गरे।
‘नेकपाको मृत्युको घोषणा भएको दिन हो नि त्यो, त्यो दिन शोक व्यक्त गरेको छु। तर, मलामी जाने कोही पनि देखिनँ। शोक गीत बज्ला भनेको लोक गीत बज्यो। आहा! कम्युनिस्ट पार्टी सकियो। हामी माओवादी भयौं, एमाले भयौं। कोही प्रश्न गर्दैन, कोही अदालत जाँदैन,’ उनले भने।
प्रतिनिधि सभादेखि स्थानीय तहसम्म रिक्त जनप्रतिनिधीमा उपनिर्वाचनमार्फत् नेकपाले जितेका जनप्रतिनिधि मान्न नसकिने थापाको प्रष्टोक्ति छ। उपनिर्वाचनबाट कास्की– २ बाट प्रतिनिधी सभामा नेकपा उम्मेदवार विद्या भट्टराइले निर्वाचन जितेकी थिइन्।
‘कास्की २ बाट जितेको सांसद कुन पार्टीको? एमाले कि माओवादीको? उहाँहरु भन्नुहुन्छ छान्न पाउनुहुन्छ। अहँ हिजो मत नेपाल कम्युनिस्ट पार्टीले पाएको हो। त्यो निर्वाचित जनप्रतिनिधिले छान्ने होइन, यहाँका जनताले छान्ने हो। उहाँहरुले छान्न पाउने, नागरिकले छान्न नपाउने? नेकपाबाट आएको जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न सकिँदैन,’ उनले भने।
संसदमा सरकार बनाउने म्याण्डेट नेकपाले पाए पनि अहिले नेकपा सकिएकाले अब सरकार बनाउन कांग्रेसलाई पनि उत्तिकै अधिकार भएको उनले दाबी गरे। उनले भने, ‘अब संसदभित्र सरकार बन्ने कुरामा कांग्रेसलाई पनि उत्तिकै अधिकार छ, जति नेकपा एमालेलाई छ।’
प्रधानमन्त्री ओलीले अरु पार्टीसँग मिलाएर सरकार चलाउने भनेको सरकार नभई ओली प्रवृत्ती चल्नु भएको थापाले आरोप लगाए।
ओली प्रवृत्ती सत्ता बनेको भन्दै उनले भने, ‘ओली नेतृत्वको सरकार सिंहदरबारभित्र बस्न मानेन। त्यो फैलिएर अदालत पुग्न खोज्यो, अख्तियार पुग्न खोज्यो, निर्वाचन आयोग पुग्न खोज्यो। ओली अहिले सिंहदरबार बस्नुहुन्छ। तर, प्रधानन्यायाधीशको कुर्चीमा बस्ने पनि मै हुँ, अख्तियारको प्रमुख पनि मै हुँ, निर्वाचन आयोगको प्रमुख पनि मै हो, प्रहरी प्रमुख पनि मै हो, सेनाको प्रमुख पनि मै हो, सबैको प्रमुख मै हो भन्ने उहाँलाई लागेको छ। डेमोक्रेसीमा यस्तो कल्पना गरिएको हुँदैन।’
प्रधानमन्त्री ओली मातहत रहेर अदालतदेखि संवैधानिक निकायहरुले निष्पक्ष काम गर्न नसक्ने थापाले दाबी गरे। कांग्रेसले अग्रसरता लिएर अब ओलीले बिगारेका काम सच्याउनुपर्ने थापाले जिकिर गरे। कांग्रेसकै नेतृत्वमा अब निष्पक्ष निर्वाचनमा जानुको विकल्प नभएको उनको भनाइ छ।
सरकार बनाउन काँग्रेस अरु दलसँग वार्ता गर्नुपर्ने भन्दै उनले अन्य दललाई पनि स्पष्ट हुन थापाले आग्रह गरे।
‘जनता समाजवादी पार्टीले पनि अल्मल्याउने काम गर्ने होइन। कांग्रेसलाई समर्थन दिने हो भने दिने भन्नुस्। नदिएर केपी ओलीसँग टाँस्सिरहने हो भने जानुस्, गए हुन्छ केही फरक पर्दैन। माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने हो भने लिने भन्नुस्, हाम्लाई समर्थन गर्ने हो भने गर्ने भन्नुस्, नत्र नभन्नुस्। माओवादी केन्द्र आउँदैन भन्छ भने हामी के गर्न सक्छौं? उसो भए प्रधानमन्त्री ओलीलाई जोगाउनूस्,’ थापाले भने।
अर्को प्रसँगमा प्रतिनिधि सभा सदस्य समेत रहेका काँग्रेस केन्द्रिय सदस्य थापाले नेकपाले चलाएको समृद्धीको बहस नै खाक्रो भएको दाबी गरे। समृद्धी भनेकै चुच्चे रेल, झण्डा हालेको पानी जहाज, ठुला बाटो भन्ने प्रचार गरिएको छ, थापाले भने, ‘प्रधानमन्त्रीले भनेको समृद्धी जहाज हो, त्यसमा चढ्ने मान्छे होइन, त्यो समृद्धी खोक्रो थियो, बहस बरालिएको थियो, त्यही भएर संकट आयो।’
कोरोना भाइरस रोकथाम गर्न सरकारले बनाएको कोभिड कोषमा काँग्रेसले शुरुमै ५० लाख दिएको उनले स्मरण गरे। तर सरकारले कोरोना रोकथामका लागि सामाग्री खरिद गर्दा सबै ठाउँमा भ्रष्टाचार गरेको उनको आरोप छ।
कोरोनाले पारेको कृषि समस्या समाधान गर्न आफुले पटक पटक तत्कालिन कृषि मन्त्री घनश्याम भुषाललाई प्रतिवेदन बुझाएर छलफल गरेपनि केही काम नगरेको उनले आरोप लगाए।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकीको दोस्रो भेला एवं अधिवेसनमा बोल्दै थापाले उल्लेखित कुरा बताएका हुन्। थापाले संवोधनका क्रममा आफुले बाख्रा पालन गर्दाको अनुभव पनि सुनाए।
‘म त प्रख्यात बाख्रा पालक कृषक हुँ, तपाईंहरुले कुख्यात बनाएको हो’, थापाले भने, ‘राज्यकोषबाट १ सुका लिएको भए मलाई ओली सरकारले उहिल्यै पाता कसिसक्थ्यो।’
नुवाकोटमा बाख्रापालन गर्दा असफल भएको उनले बताए। त्यसपछि चितवनमा माछापालन गर्न खोजेको तर माछाभन्दा जग्गाको भाउ बढेर समस्या आएको थापाको भनाइ छ।
आफूले कृषिमा लाग्दा गरेको अनुभव कृषिमन्त्रीलाई सुनाउँदा पनि कुनै सुनुवाई नभएको उनले बताए।
तत्कालीन कृषिमन्त्री भुषाललाई भनेको कुरा सझिँदै थापाले भने, ‘तपाईंका फ्याउराहरुले के भन्छन्, छोडिदिनुस्, मेरो अनुभव सुन्नुस भनेर १८ बुँदे प्रतिवेदन बुझाए तर केही लागेन।
अनलाइनखबरबाट