Breaking News

दक्षिणकाली चाल्नाखेलमा फेला परेको २ शव विद्यार्थीको भएको पुष्टि

६ चैत, काठमाडौं । आज बिहान काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा फेला परेको शव विद्यार्थीको भएको पुष्टि भएको छ । खहरेस्थित जंगलमा दुई जनाको शव फेला परेको थियो । मृतकका आफन्तमार्फत प्रहरीले शवको पहिचान खुलाएको हो ।

नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको शव पहिचान भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताएका छन् । नुवाकोट छापा घर भएका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे । काभ्रेको भुम्लु सल्ले गाउंपालिका घर भएका १८ वर्षीय मंगलचाहि क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत थिए ।

‘दुवैजना बाङ्गेमूढामा बस्थे गरेका थिए । मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह कमाण्डको टिम घटनास्थलमा पुगेर शवको मुचुल्का गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरले शवको अवस्था अवलोकन गरेका छन् ।

तालिमप्राप्त कुकुरलाई पनि अनुसन्धानमा प्रयोग गरिएको एसपी बस्नेले बताए । खहरेस्थित जंगलमा डांडा वारी–पारी दुई जनाको शव फेला परेको थियो । अर्जुनका दाइले प्रहरीलाई बताए अनुसार उनीहरु हिजो बिहिबार बिहान १० बजेबाट हराएका थिए ।

शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टिमले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।