नेविप्रा को खुद नाफा ७ अर्ब २० करोड आर्जन

कदर समाचार
२१ चैत, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७५–७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५–७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको थियो ।
महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले आव २०७५–७६मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ । योसँगै संचालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेको छ । प्राधिकरणको जगेडा तथा संचित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ । आव २०७४–७५मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा तथा संचितकोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो ।
आव २०७२–७३मा ८अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा संचित कोष ३४अर्ब ६० करोड ८५ नोक्सानीमा रहेको प्राधिकरण कुलमान घिसिङ कार्यकारी निर्देशक भएपछिका वर्षहरुमा फड्को मार्दै खुद नाफा उकालो लागिरहेको छ । ऋणात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ ।
विद्युत चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्यपछि ऊर्जा खपतमा बृद्धि, प्राधिकरणका जलविद्युत आयोजनाहरुको उत्पादनमा बृद्धि,वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट संस्था तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।
आव २०७२–७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट आव २०७५–७६मा आईपुग्दा १५.३२ प्रतिशतमा झरेको छ । घिसिङले निर्देशक हुँदा लोडसेडिङ अन्त्य गर्ने, प्राधिकरणलाई नाफामा लैजाने र मुलुकलाई विद्युत्मा आत्मनिर्भर बनाउने मुख्य तीनवटा प्रतिबद्धता जनाएका थिए ।
‘प्राधिकरणको अबको यात्रा घाटाको होइन, नाफाको हो भन्ने अठोटका साथ सम्पूर्ण टिम अहोरात्र खटिएको छ, यसमा सम्माननीय प्रधानमन्त्रीको निर्देशन तथा माननीय ऊर्जामन्त्रीको नेतृत्व, संचालक समिति तथा प्रशासनको साथ, प्राविधिकको दक्षता, कर्मचारीको मेहनत, आमउपभोक्ताको साथ र सहयोग पाएका छौं, त्यसबाट पनि हामीलाई काम गर्ने हौसला र ढाडस मिलेको छ,’उनले भने, ‘प्राधिकरणलाई नाफासहितको अनुशासित, सम्मानित, सबल संस्था बनाउने,विद्युत सेवाको उपलब्धता विस्तार गर्ने,उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउने स्पष्ट दृष्टिकोण एवं योजनाका साथअघि बढिरहेका छौं ।