प्रधानमन्त्री ओलीले खनाल–नेपाल समूहले आयोजना गर्ने कार्यकर्ता भेलामा सहभागी नहुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
बालुवाटारमा आज आयोजित चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भोलि र पर्सी आयोजना हुने राष्ट्रिय कार्यकर्ताको भेलामा सहभागी नहुन अनुरोध गरेका छन् ।
पार्टीले माघ ७ गते केन्द्रीय कमिटिको बैठक बोलाएको भन्दै त्यसअघि नै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको भन्दै अनुशासनहीन काम गरेको खण्डमा विधानअनुसार कारबाही गरिने चेतावनी दिएका छन् ओलीले ।अध्यक्ष ओलीले भने,‘गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासन विपरीत कार्यक्रम गरिएको खण्डमा कारबाही गरिनेछ’, ।‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । त्यस्ता गुटगत कार्यक्रममा भेला नहुन कार्यकर्तालाई अनुरोध गर्छु ।
’
आजको चियापान कार्यक्रममा सहभागी नहुन भनेर गुटको बैठक नै बसाएर निर्णय गरेको सुन्नमा आएको भन्दै त्यस्तामाथि थप कदम चालिने ओलीको चेतावनी रहेको छ ।
आफ्नो नीति कसैप्रति पनि लाचार र रिस बैभवको भावना नरहेको भन्दै गलत गर्नेलाई पनि कुनै हालतमा नछाडिने र विचार केन्द्रीत अनुशासित, र संगठित भएर अगाडि बढ्नुपर्ने ओलीले बताए ।
‘यस पार्टीमा कसैमाथि अन्याय हुन्न । ठूला–ठूला अपराध भएका छन् । तर हामीले फराकिलो हृदय लिएका छौ’, उनले भने, ‘एकदम अपराध गर्नेलाई स्वागत त गर्दैनौं । तर स्वीकार्छौ । त्यसका लागि सच्चीएर काम गर्नुपर्छ ।’
ओलीले पार्टीले बोलाएको चियापानमा नआएर कसको निम्तामा जाने भन्दै असन्तुष्ट पक्षका नेताहरूलाई प्रश्न गरेका छन् । ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको चियापानमा नआएर कसले बोलाएमा जानुहुन्छ भन्दै प्रश्न पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले माधवकुमार नेपालप्रति कटाक्ष गर्दै पार्टीले बोलाएको चियापानमा बैठक बसेरै नआउने निर्णय गरेको भन्दै व्यङ्ग गरे ।‘एकथरी अनुहारका साथीहरू चियापानमा देखिनुभएन, हिजो बेलुकी बैठक बसेर पार्टी अध्यक्षको चियापान नजाने भनेर निर्णय गर्नुभएछ,’ उनले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको निमन्त्रणा र चियापानमा नजाने, कसको निम्ता र चियापानमा जानुहुन्छ?’
ओलीले चियापानमा नेताहरू नआउनु राम्रो लक्षण नभएको टिप्पणी गरे । ‘कुनै कारणबस भ्याउनुभएन होला भन्ने म ठान्छु, चियापानमा नआउने निर्णय गर्नुभएन होला भन्ने म ठान्छु,’ उनले भने, ‘अझै केही समय बाँकी छ, भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न, कति तमासा गर्नुहुन्छ, एक नजर चाहिँ त्यता राखिनेछ ।’
ओलीले पार्टीलाई धम्क्याएर र धु¥क्याएर ठेगान लगाउने नसोच्न आग्रह गर्दै विधिविधान अनुसार पार्टी चल्ने स्पस्ट पारे ।