अध्यनलाई आधार मान्ने हो भने लकडाउन कम्तिमा ६ हप्ता गर्नुपर्ने हुन्छ

कदर समाचार
२१ चैत्र, काठमाडौं । चिनको बुआनबाट फैलिएको कोरोना भाइरसले विश्वभरी नै फैलिए पछि नेपालमा पनि उम्कन सकेन । नेपालमा पनि विदेशबाट आएको मान्छेलाई कोरोना संक्रमण देखिएपछि कोरोना भारइसको संक्रमण नफैलिओस् भनेर नेपाल सरकारले चैत ११ गतेदेखि देशभरि लक डाउन गरेको छ । सुरूमा एक हप्ताका लागि भनिएको लक डाउन थपेर दुई हप्ता चैत्र २५ सम्म पुर्याइएको छ । धेरै मानिसहरूलाई लक डाउन फेरि थपिन्छ कि थपिन्न भन्ने चासो छ किनकी हाम्रो छिमेकी भारतले सुरूमै तीन हप्ता लामो लक डाउन घोषणा गरेको छ ।
एउटा नयाँ अध्ययनलाई आधार मान्ने हो भने तपाईंहरूले घरभित्रै बस्नु पर्ने दिन अझै केही साता लम्बिन सक्छ किनकी कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा राख्ने हो भने कम्तिमा पनि छ हप्ता लक डाउन गर्नु पर्ने उक्त अध्ययनले देखाएको छ ।
अमेरिकाको एसएसआरएन जर्नलमा यसै साता प्रकाशित उक्त अध्ययनको रिपोर्टले भन्छ । महामारी रोक्न एकदमै कडाखालका कदमहरू चालेका देशले तीन हप्तापछि महामारीलाई मध्यमस्तरको बनाउन सक्छन् । एक महिनामा संक्रमणको फैलावट रोक्न सक्छन् भने ४५ दिनपछि महामारीलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन् ।
उक्त अध्ययनले कडा कदमभित्र पूर्ण लक डाउन, घरभित्रै बस्ने आदेश, व्यापक परीक्षण र क्वारेन्टिनमा राख्ने कुराहरू पर्ने उल्लेख गरेको छ । यी कुराहरू जति कम र्गयो महामारी नियन्त्रण गर्ने त्यति नै बढी समय लाग्ने अध्ययनको निष्कर्ष छ ।
‘भ्याक्सिन, उपचार, बृहत परीक्षण र क्वारेन्टिनमा राख्ने कुरा नहुँदा लक डाउन र घरमै बस्नु पर्ने समय केही महिनासम्म आवश्य हुन्छ,’ अध्ययनमा भनिएको छ । यो अध्ययन संसारका ३६ वटा मुलुक र ५० वटा अमेरिकी राज्यका तथ्यांकहरूमा आधारित छ ।
अनुसन्धानकर्ताहरूले मुलुकको आकार, सीमा जोडिएका देश र अभिवादन गर्ने संस्कार, तापक्रम, आद्रता र अवस्थितिले पनि लक डाउनको समयमा केही तलमाथि हुन सक्ने बताएका
छन् । उनीहरूले इटाली र क्यालिफोर्नियाले लागू गरेको कडा खालको लक डाउन, सिंगापुर र दक्षिण कोरियाले गरेका व्यापक परीक्षण र चीनले यी दुबैको मिश्रण गरेर अपनाएको नीतिलाई आफ्नो अध्ययनले सहयोग गरेको बताएका छन् ।
‘सिंगापुर र दक्षिण कोरियाले व्यापक परीक्षण गर्ने र क्वारेन्टिनमा राख्ने नीति लिएका छन्, यो नै महंगो लक डाउन र घरमै बस्ने नीतिको एकमात्र विकल्प हो,’ अध्ययनमा भनिएको छ ।
अमेरिकाले समयमै यी नीतिहरू नअपनाएकाले कोरोनाको महामारी तीव्र रूपमा फैलिएको पनि अध्ययनको निष्कर्ष छ । मार्चको सुरूतिर अमेरिका १ हजारजति कोरोना भाइरस संक्रमित थिए भने केही दर्जनले मात्र ज्यान गुमाएका थिए त्यतिबेला अमेरिकी अधिकारीहरूले आफ्ना नागरिकमा भाइरसको संक्रमण हुने जोखिम कम भएको भन्दै कडा कदम चाल्न तत्परता देखाएका थिएनन् ।
पछिल्लो समय अमेरिका कोरोना भाइरसको नयाँ हटस्पट बनेको छ । त्यहाँ शुक्रबारसम्म २ लाख १५ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ भने पाँच हजार बढीले ज्यान गुमाएका छन् ।