Breaking News

सुत्केरी आमा र तीन दिनको शिशुलाई पनि कोरोना संक्रमण

कदर समाचार
२१ चैत्र, काठमाडौं । कोरोना भाइरसले विश्नै त्रासमय भएको बेला भारतमा तीन दिनको शिशु र उनको आमालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मुम्बईको चैंबुर भन्ने ठाउँका विक्की सिंहकी श्रीमती र उनको तीन दिनको छोरामा कोरोना पुष्टि भएको हो ।
विक्कीले कोरोना संक्रमणबाट जोगाउन हरसम्भव कोसिस गरेका थिए । मुम्बईको साई अस्पतालको दुई बेडको एउटा सिङ्गै कोठा उनीहरुले बुक गरेका थिए ।
विक्की सिंहले अस्पतालको लापरवाहीका कारण आफ्नो पत्नी र छोरो कोरोना भाइरसबाट संक्रमित भएको आरोप लगाउँदै आएका छन् । उनले अस्पतालले कोरोना संक्रमितलाई बेडमा राखेको र पछि त्यो कोठा राम्रोसँग सफा नगर्दा आफ्नो परिवारको सदस्यलाई पनि कोरोना भाइरस सरेको बताउँछन् । यद्यपि अस्पतालले सरसफाइ र पूर्णसावधानी अपनाइएको भन्दै विक्की सिंहको आरोपको खण्डन गर्दै आएको छ । एक रेष्टुरेन्टमा म्यानेजरको जागिरे विक्की सिंहले श्रीमतीको डेलिभरीको समय आउनुभन्दा अगाडि नै अस्पतालका दुई बेड वाला कोठा बुक गरेका थिए । अपरेसन गरेर बच्चा जन्मिएको दुई घण्टामै अस्पतालका कर्मचारीले अर्को कोठामा सर्न भने । विक्कीले मानेनन् । तर, कर्मचारीहरुले त्यो कोठाको चुकुल बिग्रिएको भन्दै एउटामात्रै बेड भएको अर्को कोठामा सारिदिए ।
त्यसको भोलिपल्ट अस्पतालले जुन कोठामा उनकी श्रीमतीलाई राखिएको थियो, त्यो कोठामा पहिलो कोरोना संक्रमित बिरामीलाई राखेको भनेर स्वीकार गरेको विक्की सिंहको भनाइ छ । त्यसपछि विक्कीले आफूहरुको स्वास्थ्य परीक्षण गर्न माग गरे । तर, अस्पतालका चिकित्सकहरुले कुनै लक्षण नदेखिएकाले नमूना परीक्षण गर्नु नपर्ने बताए । विक्कीले धेरै कर गरेपछि भोलिपल्ट बल्ल तीनै जनाको स्वास्थ्य परीक्षण गरियो ।
त्यसपछि मार्च ३० तारिखको दिन डाक्टरहरुले विक्कीलाई डिस्चार्ज हुन भने । तर उनले मानेनन्, किनभने उनको घरमा ७० वर्षीया हजुरआमा थिइन् । तर डाक्टरहरुले भने अस्पताल बन्द हुन लागेको भन्दै अस्पताल छाड्न कर गरे ।
विक्की भन्छन्, ‘अन्तमा हामीले अस्पताल छाड्नुपर्यो । घर गएपछि हामी तीनैजनाको रिपोर्ट आयो । मेरो नेगेटिभ देखियो तर पत्नी र छोरोको रिपोर्ट पोजेटिभ थियो । अहिले विक्की, उनकी पत्नी र छोरो कस्तुरबा अस्पतालको क्वारेन्टाइनमा
छन् । उनीहरुलाई डाक्टरहरुको निगरानीमा उपचार जारी छ । विक्कीले प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीलाई अपिल गर्दै आफूहरु र आफ्नो सानो बच्चाको उपचारमा विशेष ध्यान दिन माग गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार कोरोना भाइरस संक्रमण फैलिएको पाइएपछि साई अस्पताललाई सिल गरिएको छ ।