कोरोना भाइरसको हल्ला फैलाउने नौसेनाका एक कमाण्डरलाई बर्खास्त

कदर समाचार
२१ चैत्र, काठमाडौं । कोरोनाबारे गलत हल्ला फैलाएको आरोपमा अमेरिकी नौसेनाका एक कमाण्डरलाई उक्त जिम्मेवारीबाट बर्खास्त गरिएको छ । यूएसएस थियोडोर रुजबेल्ट जहाजको नेतृत्व गरेका क्याप्टेन ब्रोट क्रेजियरले कोरोनाबारे भ्रम फैलाएसँगै उनलाई बर्खास्त गरिएको हो । नाभीका सेक्रेटरी थोमस मोड्लीले उनको निष्कर्षलाई नीचको संज्ञा दिएका छन् ।
झण्डै ५ हजार कर्मचारीको नेतृत्व गरेका क्रेजियरको जिम्मेवारी बिहीबारबाट खोसिएको एनबीसी न्युजले जनाएको
छ । जहाजको नेतृत्व खोसिए पनि उनी सेवाबाट भने हट्ने छैनन् । उनको ओहोदा पनि यथावत् रहने बताइएको छ ।
क्रेजियरले गत साता नौसेनाको नेतृत्वलाई पत्र लेख्दै एक सय जनामा कोरोना संक्रमण देखिएको दाबी गरेका थिए । कडा शब्दमा लेखिएको पत्रमा जहाजमा कोरोना भाइरस फैलन लागेकाले रक्षा गर्न माग गरिएको थियो । जुन पत्र सञ्चारमाध्यममार्फत् सार्वजनिक भएको थियो । लगत्तै नाभी नेतृत्वले उनको जिम्मेवारी खोसेको हो ।