आजदेखि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) खुल्यो

२१ फागुन, काठमाडौं । आजदेखि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) खुलेको छ ।

कम्पनीले आइतबारदेखि आइपिओमा आवेदन खोल्ने भने पनि सिडिएस एण्ड क्लियरिङको आग्रहपछि आजदेखि नै बिक्री खुल्ला गरिएको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयांको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

अंकित मूल्य १ सयका दरले ६६ लाख कित्ता सेयर जारी हुनेछ । जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बांकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ ।

आइपिओ भर्नेमध्ये ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले पाउने छन् । पछिल्लो समय आइपिओ भर्नेको संख्या १५ लाख नाघ्ने गरेको छ, यस हिसावमा यो कम्पनीमा आवेदन दिनेमध्ये ९ लाख भन्दा धेरैको हात रित्तो हुनेछ ।

आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।

फागुन २६ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर र अँफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ ।

नयां कम्पनीमध्ये प्रभु र रिलायन्स लाइफले यसअघि नै आइपिओ जारी गरेका छन् ।

ज्योतिसहित पछिबाट खुलेका कम्पनीहरु आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ ।