अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म गर्नुछ

अध्यक्ष, माधवकुमार नेपाल

१५ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसंग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।

पार्टी सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई आज शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीसंगको एकताको कुनै सम्भावना छैन, कुनै भ्रममा नपर्नुस् ।

केपी ओलीका मानिसहरुको आंखामा बाम लगाएर निकालेको आंशुको कुनै अर्थ छैन’ उनले अघि भने, ‘बाम लगाएर आंसु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हांस्छन् र मुर्ख बनाएर पठाइयो भन्छन् । तपाईहरु यस्ता कुराको भ्रममा नपर्नुस् ।

बालुवा पेलेर तेल निस्किनु र प्रधानमन्त्री ओली सुध्रिनु एउटै भएको उनको टिप्पणी छ । स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पहिलो व्यक्ति बामदेव गौतम नै अहिले उनलाई सुधार्ने कोशिशमा लागेको भन्दै प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालले भने, ‘अहिले फेरि केपी ओलीलाई सुधार्न कोशिश गर्दै हुनुहुन्छ । गर्नुहोस्, तर मैले भनेको छु बालुवा पेलेर तेल निस्किदैन ।

नेपालले संसद विघटनविरुद्ध आन्दोलन गर्नेहरु मिल्नुपर्ने र संयुक्त सरकार बनाउनुपर्नेमा जोड दिए । संसद पुनस्थापना भएपनि पूरै लडाई जित्न बांकी रहेको भन्दै अध्यक्ष नेपालले भने, ‘अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म गर्नुछ ।