१४ फागुन, काठमाण्डौ । अर्थ मन्त्रालयमा सहसचिवहरुको खटनपटन भएको छ । अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाललाई सरुवा गरेको छ । उनी यसअघि अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा थिए ।
यसअघि भन्सार विभागको नेतृत्वमा रहेका सुमन दाहाललाई भने अर्थमन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको छ । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका दीर्घराज मैनालीलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पदस्थापन गरिएको छ ।
यो स्थानमा यसअघि सहसचिव झक्कप्रसाद आचार्य थिए । उनीलाई भने अर्थले आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएको छ । आर्थिक नीति विश्लेषण महाशाखामा भने डा. रामप्रसाद घिमिरेलाई ल्याइएको छ ।
उता, आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा भने दुई सहसचिव शम्भु मरासिनी र आनन्द काफ्लेलाई ल्याइएको छ । विमानस्थल भन्सारमा भने लक्ष्मीप्रसाद निरौलालाई तोकिएको मन्त्रालय स्रोतले जानकारी गराएको छ ।