एनसेलले इन्टरनेट शुल्क घटायो

कदर समाचार
२० चैत्र, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार आज बिहीबार (चैत्र २०) बाट लागू हुनेगरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ ।
एनसेलले आफ्नो कर बाहेक २ रुपैयाँ प्रति एमबी रहेको पे एज यु गो शुल्क १.५० रुपैयाँ प्रति एमबीमा झारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लाग कम्पनीले बताएको छ ।
इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघि नै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ । जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ। यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जाने बताइएको छ ।
पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन् ।

जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन् । जब ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५, १०, २०, ३० रुपैयाँ वा यो भन्दा थप १० रुपैयाँका दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जाने कम्पनीले जानकारी दिएको छ ।
शुरुमा १० रुपैयाँ डेटामा खर्च गरेपछि खर्च हुने प्रत्येक १० रुपैयाँमा ग्राहकले २०÷२० एमबी डेटा बोनस पाउने छन् ।
यदि ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स १.०४ एबी डेटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन्। यसैगरी ग्राकहले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन् भने बोनसको ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउँनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको १०० रुपैयाँ डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबी सहित कुल २५० एमबी डेटा पाउँनेछन् ।
कोरोनाभाइरसले निम्त्याएको महामारीको बेला एनसेलले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न योजनाहरु ल्याएको छ। जसअनुसार सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक रहेका
छन् ।