कृषिजन्य सामग्री ढुवानीमा २५ प्रतिशत छुट

कदर समाचार
२० चैत्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको रोकथामका लागि जारी गरिएको ‘लकडाउन’ को अवधिमा कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ ।
आइतबार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो । निर्णयअनुसार मन्त्रालयले दुध, तरकारी, फलफूल, माछा, अण्डा, मासु तथा खाद्यान्नलगायतका सामग्री बजार, केन्द्र वा राजधानी उपत्यकामा ढुवानी गर्दा २५ प्रतिशत अनुदान स्थानीय तहमार्फत उपलब्ध गराउने भएको छ । मन्त्रालयका उपसचिव डा गंगा आचार्यले किसानलाई ढुवानीमा अनुदान दिन सबै स्थानीय तहलाई पत्राचार गरिएको जानकारी दिए। साथै किसानमा परेको समस्याको समेत अभिलेख उपलब्ध गराउन पत्राचार गरिएको उनले बताए ।
‘हामीले अनुदानका लागि स्थानीय तहमा पत्राचार गरिसकेका छौं, के कसरी दिने भन्ने विषयमा छलफल भइरहेको छ । मन्त्रालयले किसान तथा उत्पादकलाई बजार केन्द्रसम्म आफ्ना उत्पादन बिक्री गर्न सवारीसाधनको पासको व्यवस्थासमेत गरेको छ ।
किसानलाई परेको असरको अभिलेख तयार पारी आवश्यक कार्यक्रम ल्याउन पनि मन्त्रालय लागि परेको छ । किसानले उत्पादन गरेका वस्तुहरूको बिक्रीवितरण नभए स्थानीयस्तरमै वैकल्पिक वस्तुहरू उत्पादन वा प्राथमिकस्तरको प्रशोधन गर्ने कार्यमा समेत सघाउन स्थानीय तहलाई मन्त्रालयले आग्रह गरेको छ ।