माडीमा राममन्दिर बनाएर मूल पुरोहित केपी ओलीलाई राखिदिऊ

नेता सुरेन्द्र पाण्डे

१२ फागुन, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले भरतपुरमा पार्टीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै, देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने बताएका छन् ।

नेता पाण्डेले सर्वोच्च अदालतको फैसलासंगै ओली सेटिङको युग सकिएको बताए ।

‘हिजो बेलुका एउटा प्रमाणित भयो ओली सेटिङ ’टाइ टाइ फिस’, ओली सेटिङ गयो, समाप्त भयो । ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो,’ पाण्डेले भने, ’यो प्रतिगमन विरोधी आन्दोलनमा सहभागी हुने सबैलाई धन्यवाद छ । सर्वोच्च अदालत र न्यायाधीशहरूलाई अझ धेरै धन्यवाद पार्टीको तर्फबाट ।

नेपालमा अझै पनि न्याय मरेको छैन भन्ने कुरा न्यायाधीशहरूको फैसलाबाट प्रमाणित भएको बताए ।

अदालतको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको उनले बताए ।

नेता पाण्डेले अब ओलीको सेटिङ नचल्ने भन्दै सबै नेता कार्यकर्तालाई एक ठाउंमा आउन आह्वान समेत गरे ।

प्रधानमन्त्रीलाई दुर्योधन र राष्ट्रपतिलाई धृतराष्ट्रसंग तुलना गर्दै पाण्डेले अब देश त्यसरी चल्न नसक्ने बताए ।

प्रधानमन्त्रीले महाराजाको शैलीमा सरकारी पैसाको दुरूपयोग गरी जन्मोत्सव मनाएको भन्दै उनले भने, ’प्रधानमन्त्री जीले अब राजीनामा गरेर मार्ग प्रशस्त गर्नुप¥यो, तपाईं यो पदमा बस्ने हैसियत राख्नु हुन्न ।

त्यस्ते नेता पाण्डेले एक अर्को प्रसंगमा ओली प्रधानमन्त्रीबाट बिदा भएपछि ओली राम मन्दिरको पुजारी बन्नुपर्ने बताए ।

केही दिनअघि ओलीजी यहीं आएर भन्नुभएछ, कहां छौ सांसदहरू तीन–तीन जना ? म भएको भए माडीमा एउटा राम मन्दिर बनाउने थिएं । म माडीका मेयरलाई भन्न चाहन्छु, माडीमा राममन्दिर बनाउने विषयमा चितवनबाट निर्वाचित सबै सांसदले सहयोग गर्छौं,’ उनले भने, ‘म एउटा प्रस्ताव गर्न चाहन्छु प्रधानमन्त्री तपाईंलाई त्यहां मन्दिर बनाएर मूल पुरोहित केपी ओलीलाई राखिदिऊ । त्यसो भएपछि उहांलाई त्यसैले चित्त बुझ्छ ।