मुलुकभरमा बिद्यालय त खुले तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना कम

७ फागुन, काठमाण्डौ । मुलुकभरका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमणबाट जोगिन भौतिक दुरी कायम गर्न, मास्क लगाउन, समय–समयमा साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गर्ने जस्ता सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सुझाव दिँदै आएको छ ।

बजार, सार्वजनिक यातायात र विद्यालयहरू समेत खुल्न थालेपछि भौतिक दुरी कायम गर्नु भने कठिन बन्दै गएको छ ।

त्यसो त अहिले कोरोना संक्रमण दर पनि घटेको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला संक्रमितको चाप घटेको बताउंछन् । अस्पतालमा संक्रमितको चाप घट्नुले समुदायमा संक्रमण दर घटेको देखाउंछ ।

‘समुदायमा संक्रमण रहेको भए निमोनिया वा अन्य समस्या लिएर पनि अस्पताल आउँथे’, डा. बास्तोला भन्छन्, ‘अहिलेको वास्तविक अवस्थाबारे राम्रो अध्ययन हुनु जरुरी छ ।’

सतही अध्ययनले कोरोना संक्रमणको वास्तविक अवस्था देखाउन नसक्ने बताउंदै उनी भन्छन्, ‘अध्ययन पनि हुंदै जाला, स्वास्थ्य सुरक्षाको मापदण्ड भने सबैले पालना गरिरहनैपर्छ ।’

वृद्धवृद्धा, दीर्घरोगीहरू अझै पनि उच्च जोखिमै रहेको डा. बास्तोला बताउंछन् । उनका अनुसार खोप लगाएकाहरूबाट पनि अरूलाई कोरोना सर्ने सम्भावना रहने हुंदा सबैले डब्लुएचओको स्वास्थ्य मापदण्ड पालना गर्नु आवश्यक छ ।

तर, नेपालीहरूले मास्क प्रयोग बाहेक स्वास्थ्य सुरक्षाको अन्य मापदण्ड पालना गरेको कमै देखिन्छ । धमाधम खुलेका विद्यालयहरूमा त्यही अवस्था छ । पूर्ण सञ्चालित विद्यालयहरूमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सम्भव नहुने प्रधानाध्यापक तथा शिक्षकहरू बताउंछन् ।