काठमाडौँ । नेकपा एकता अभियानका संयोजक वामदेव गौतम एमाले फर्किने तयारीमा लागेका छन्। एकीकृत समाजवादीमा जान सबै कुरा मिलिसकेको बताए पनि केही नेताको समायोजनमा नमिले पछि र समाजवादी अध्यक्ष माधव नेवालले त्यति चासो नदेखाएपछि गौतमले एमालेमा जाने निधो गरेका हुन् । यसमा पनि एमालेको केन्द्रीय कमिटि बैठकले पार्टीमा फर्किन आह्वान गरेको कारणले पनि गौतम एमालेमा जान तयार भएका छन् ।
गौतमले पार्टीमा फर्किन गएको शुक्रबार अध्यक्ष ओलीसँग भेटेर कुराकानी गरेका थिए । उनको आज आइतबार पनि ओलीसँग थप कुराकानी भएको छ ।
उनी तीन वर्षअघि ओलीको कार्यशैलीप्रति असहमति जनाउँदै उपाध्यक्षबाट राजीनामा दिएर पार्टीबाट बाहिरिएका थिए ।
यस्तै गौतम निशर्त एमालेमा फर्किन लागेपछि नेकपा एकता राष्ट्रिय अभियान भने विभाजन भएको छ । एकता अभियानका बहुमत केन्द्रीय सदस्यले गौतमको साथ छाडेका हुन् ।
आइतबार उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय समिति सदस्यले गौतमबाट अलगिएको घोषणा गरेका छन् ।
अर्याल एकता अभियानका लुम्बिनी प्रदेश इन्चार्ज हुन् । त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले पनि गौतमलाई छाडेको घोषणा गरेका छन् । उनीहरु माओवादी केन्द्रमा मिसिने तयारीमा छन् ।