प्रदेश २ को प्रमुख फेरबदेलमा कांग्रेसद्धारा बिरोध

७ फागुन, काठमाण्डौ । सरकारले आज प्रदेश २ को प्रदेश प्रमुखको बर्खास्ती गरी नयां प्रदेश प्रमुख नियुक्ति गरेकामा नेपाली कांग्रेसले विरोध जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाएर रौतहटका राजेश झालाई नियुक्त गरेकी थिइन् ।

कांग्रेसले प्रदेश प्रमुखको नियुक्ति बदर गरेर प्रदेश प्रमुखको गरिमा घटाउँदै लगेको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा भनेका छन्, ‘‘निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।’

संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न नपाउने शर्माले बताए । ‘अतः यसप्रति कडा विरोध जनाउंदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ’ उनले भनेका छन् ।