नासाको अन्तरिक्ष यानले पठायो ४७ करोड किलोमिटर टाढाको मंगल ग्रहबाट तस्बिर

एजेन्सी

काठमाडौं, फागुन ७ । अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष यान पर्सिभिरेन्स ४७ करोड २० लाख किलोमिटर दूरी पार गरेर मंगल ग्रहको सतहमा अवतरण भएको छ।

नासाका अनुसार अहिलेसम्मकै राम्रो अस्ट्रोबायोलिजी प्रयोगशाला भएको पर्सिभिरेन्स केही घन्टाअघि मंगल ग्रहको  जेजेरो कार्टरमा अवतरण भएको हो। मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण भएको रेडियो सिग्नल पृथ्वीमा आइपुग्न ११ मिनेट लागेको थियो।

पृथ्वीबाट गएको सात महिनापछि अन्तरिक्ष यानले मंगल ग्रहको सतह छुँदा लस एन्जलसको नासाको प्रयोगशालामा वैज्ञानिकहरूमा हर्षोल्लास छाएको थियो। यो यान १२ हजार किलोमिटर प्रतिघन्टाको गतिमा मंगल ग्रहतर्फ गएको थियो।

६ पांग्रे रोभर मंगल ग्रहमा अवतरण भएपछि त्यहाँको श्यामश्वेत तस्बिर पनि पठाएको छ।  अलिकति धुलोसहितको उक्त तस्बिरमा जेजेरो कार्टरको समथर क्षेत्र र चट्टान देखिन्छन्।

जेजेरो कार्टरमा कुनै बेला ताल भएको अनुमान गरिन्छ। त्यही भएर मंगल ग्रहमा विगतमा जीवन सम्भव थियो कि थिएन भन्ने अध्ययन गर्न नासाले सोही क्षेत्रमा यान पठाएको हो।

२.७ अर्ब डलर खर्च भएको दुई वर्ष लामो यो अभियानको मुख्य उद्देश्य रातो ग्रह भनेर पनि चिनिने मंगल ग्रहमा जीवनको अवशेष खोज्नु हो। सूर्यदेखि चौथो टाढाको ग्रहमा ३ अर्ब वर्षपहिले न्यानो र पानीको मात्रा भएकाले त्यहाँ जीवन सम्भव थियो भन्ने वैज्ञानिकहरूको अनुमान छ।

पर्सिभिरेन्सले जेजेरो कार्टरको सतहमा उत्खनन् गरेर अवशेषको अध्ययन गर्ने छ।

नासाका वैज्ञानिकहरूले अमेरिकाले मंगल ग्रहमा पठाएका २० मध्ये यो सबैभन्दा महत्वाकांक्षी मिसन भएको बताएका छन्।

पर्सिभिरेन्सले आफूसँग एउटा सानो हेलिकप्टर पनि लिएर गएको छ। आफैं चार्ज भएर त्यो हेलिकप्टर मंगल ग्रहमा उड्ने छ। एक ग्रहबाट अर्को ग्रहमा उडाइएको यो पहिलो उडान हुनेछ। यदि उडान सफल भयो भने १.८ किलोग्रामको उक्त हेलिकप्टरले मंगल ग्रहको हवाइ अवलोकन गर्नेछ।