६ फागुन, काठमाण्डौ । प्रहरी हिरासतमा रहेका दिनेश भट्टले बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घांटी थिचेर हत्या गरेको बयान दिएका हुन् ।
४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । जबकी पोष्टमार्टम प्रतिवेदन आधारमा प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो ।
भट्टले बलात्कार गरेको स्वीकार नगरेका कारण पीडित परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए र बलात्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए ।
तर बिहीबार अनुसन्धान अधिकृत र प्रहरी हिरासतमा आफूलाई भेट्न आएका परिवारका सदस्यसंग पनि भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीले दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हत्यापछि घडी र मोबाइल झरेको उनले बताएका थिए ।
‘घटनास्थलमा मोबाइल मात्र बरामद भएको थियो, हामीले घडीबारे सोध्दा अलि माथि फालेको उनले सुनाए’, अनुसन्धान अधिकृत स्रोतले भन्यो, ‘त्यहां गएर हेर्दा घडी पनि भेटियो ।
शव भेटिएको स्थान ।
अभियुक्त दिनेशका बुबा दीपकराज भट्टले पनि हिरासतमा गएर छोरालाई प्रहरी कहां भेटेका छन् । त्यसक्रममा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । आफूहरुले दिनेशलाई भेटेर कुरा गर्दा घटनामा संलग्नता स्वीकार गरेको काका लक्ष्मण भट्टले बताए । ‘कतै प्रहरीले कुनै प्रलोभन देखाएर स्वीकार्न लगायो कि भन्ने थियो, होइन रहेछ’, उनले भने, ‘जे हुनु भइसक्यो, गल्ती भयो भनेको छ ।
यद्यपि परिवारले भागरथीको शव अझै बुझेको छैन । अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको भन्दै काका लक्ष्मण भन्छन्, ‘हाम्रो मुख्य चिन्ता घटनाको सबुद प्रमाणहरु केही नहोस् भन्ने हो ।’
उनको शव जिल्ला अस्पताल, बैतडीमा छ । प्रहरीले भागरथीको भजाइनल स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । रिपोर्ट आउन नमूना प्रयोगशालामा पुगेदेखि कम्तिमा १५ दिन लाग्ने प्रहरी अधिकृतहरु बताउंछन् ।