Breaking News

घटनास्थलमा भेटिएको गम्छा र औंठी आफ्नो भएको र घटनामा आफ्नो संलग्नता स्वीकार

३० माघ, बारा । माघ २५ गते मृत भेटिएकी बारा महागढीमाई नगरपालिका–१ बरियारपुर कान्तीदेवी कुशवाहको हत्या भएको खुलेको छ ।

घरभित्रै शव भेटिएको उनको हत्यामा संलग्नको आशंकामा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । घटना भएको पाँच दिनपछि महागढीमाई–१ कचहरी टोलका ४२ वर्षीय लालबाबु प्रसाद कुशवाह र मठवा टोलकै ४८ वर्षीय धनेश्वरी देवी कुशवाह पक्राउ परेका हुन् ।

प्रहरीले घटनास्थलबाट अभियुक्तको रातो गम्छा र औठी भेट्टाएको थियो । गाउँको प्रत्येक घरमा गएर गम्छा र औठीको सम्बन्धमा बुझ्नुको साथै प्रविधिको प्रयोग गरेर अभियुक्त पत्ता लगाएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले यो घटना अनुसन्धानका लागि मिश्रकै नेतृत्वमा टोली खटाएको थियो । त्यस्तै प्रदेश नं २ प्रहरी कार्यालयले पनि प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतो नेतृवको टोली खटाएको थियो । पक्राउ परेका कुशवाहले घटनास्थलमा भेटिएको गम्छा र औंठी आफ्नो भएको र घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको भनाइ छ ।

मृतक कान्तीदेवीको परिवार र धनेश्वरीबीच जग्गा जमिन लगायत विषयमा किचलो थियो । सोही रिसईबी साँध्नका लागि अपराधिक मनोवृत्तिका लालबाबुको साथ लिएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाही बताउँछन् ।

‘लालबाबु अपराधिक मनोवृत्तिका मानिस रहेछन्, उनलाई धनेश्वरीले उक्साएर घटना घटाएको देखिन्छ’ उनले भने ‘लालबाबुले नै मारेको हो त्यसमा कुनै शंका छैन । उसलाई प्रलोभनमा पारिएको हो वा के गरिएको हो अनुसन्धान पछि खुल्छ ।