३० माघ, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शेरबहादुर तामाङले संसदीय व्यवस्था अफापसिद्ध भइसकेकाले देशलाई नयां राजनीतिक प्रणालीमा लानुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहने व्यवस्थामा जान प्रस्ताव गरे ।
तामाङले भने, ‘यो व्यवस्थाले स्थिरता रहेन अब नयां व्यवस्थाबाट देश चलाउनुपर्छ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऔं । पटक पटक प्रधानमन्त्रीले संसद भंग गरेकाले अब राजनीतिक स्थायित्वका लागि पनि प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखमा जानुपर्नेमा जोड दिए ।
राष्ट्रपतिले नै सरकार चलाउने र मन्त्री पनि बनाउने व्यवस्था गर्नुपर्ने बताए । तर, राष्ट्रपतिलाई निरंकुश हुन नदिने प्रावधान पनि राख्नुपर्ने बताए । प्रतिनिधि सभा सदस्यबाट कोही पनि मन्त्री बन्न नपाउने व्यवस्था गर्न सके निर्वाचन पनि स्वच्छ हुने तर्क गरे ।
पूर्वमन्त्री समेत रहेका तामाङले राजनीतिक व्यवस्थामा आमूल परिवर्तनको खाँचो औल्याए । उनले निर्वाचन एउटै खर्चमा हुनेगरी जानुपर्ने बताए । तामाङले भने, ‘संसदमा १६५ मात्र हुने र प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन पनि हुनेगरी एउटै खर्चबाट जानुपर्छ ।
एउटा चुनावमा खर्बको खर्च हुने भएकाले भ्रष्टाचार बढ्नसक्ने बताए । देशलाई चुनावी खर्चले ठुलो समस्या बनाउने गरेको बताए । देशले नयां अनुहारहरु खोजिरहेको उनको भनाई
थियो ।
केन्द्र सरकारका कारण प्रदेश सरकारमा पनि अन्यौलमा परेको बताए । प्रदेश सरकार पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रस्ताव गरे । मुलुकमा ५५० प्रदेशसभा सदस्य नचाहिने भन्दै घटाउनुपर्नेमा जोड दिए । नगरपालिका र गाउँपालिकाहरुलाई पनि ३ सयमा झार्नुपर्ने बताए । स्थानीय निकायलाई अझ बढी अधिकार दिनुपर्नेमा जोड दिए ।
नेकपाभित्र दुवै पक्षले जति संख्या देखाएपनि त्यो आधा नै भएको बताए । उनले भने, ‘अब अदालत र निर्वाचन आयोगले के फैसला देला, कस्ले कति मान्छे देखाउला भन्नेमा नजाऔं । अब देशलाई निकास दिन नयाँ कोर्समा जाऔं ।’ चुनाव हुँदैमा कसैको बहुमत आउँछ भन्ने सुनिश्चितता नभएकाले अस्थिरता फेरि आउनसक्ने बताए । उनले अस्थिरताको अन्तका लागि नयां राजनीतिक व्यवस्था अपरिहार्य भएको बताएका छन् ।