३० माघ, काठमाण्डौ । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले माघ २७ गते धुलिखेलमा आफूनिकट केही केन्द्रीय सदस्यहरूको भेला राखे ।
कोइरालाले आफ्नो समूहका सात जना केन्द्रीय सदस्यसंग धुलिखेलको आगन्तुक रिसोर्टमा २४ घन्टा बिताएका थिए । यो भेलाबारे बाहिर कतै पनि औपचारिक रुपमा जानकारी दिइएको छैन ।
प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थिति, महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको म्याद समाप्त हुन लागेका बेला कोइरालाले त्यसै सेरोफेरोमा रहेर निकस्थहरूसँग छलफल गरिएको बुझिएको छ ।
स्रोतका अनुसार भेलामा युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, दीपक गिरी र बद्री पाण्डे थिए ।
केन्द्रीय सदस्य चन्द्र भण्डारीले यो भेलाले कांग्रेसभित्रको आन्तरिक राजनीतिमा एक ठाउंमा उभिएर अघि बढ्ने सहमति भएको बताए । ‘कांग्रेसको आन्तरिक राजनीति अहिले जे जस्तो छ, हामी एक ठाउँमा उभिएर अघि बढ्ने सहमति भएको छ,’ भण्डारीले सेतोपाटीसँग भने ।
कोइराला आगामी पार्टी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने जोडमा छन् । त्यसकारण उनले आफूनिकटहरूलाई पार्टी महाधिवेशनमा आफ्नो पक्ष बलियो पार्ने रणनीतिका साथ यो भेला गरेको बुझिएको छ ।
‘भेलामा सहभागीले आधिकारिक रुपमै सभापतिको उम्मेदवार घोषणा गरेर अघि बढ्न सुझाव दिएका थिए,’ सहभागी एक नेताले भने, ‘कोइरालाले यस विषयमा सोचविचार गर्ने बताउनुभयो ।
कोइराला सभापतिका अन्य आकांक्षीहरूको समूह नै रहेकाले कसरी मिलाउने भन्ने ध्याउन्नमा छन् । महामन्त्री शशांक कोइरालाले सभापतिको दाबी गरिरहेका छन् ।
त्यसबाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र विमलेन्द्र निधिले सभापतिको आकांक्षा गरिरहेका छन् । यी सबैलाई मिलाएर जान कोइरालालाई चुनौती छ ।