अदालतले संसद पुनस्थापना नगरे जनताको आन्दोलनको बलबाट पुनस्थापना गर्न सकिने

नेता, देव गुरुङ

३० माघ, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य देव गुरुङले विघटित प्रतिनिधि सभालाई सञ्चालन गर्न सकिने बताएका छन् ।

२०५९ सालमा राजा ज्ञानेन्द्रले विघटन गरेको संसद आन्दोलन को बल र राजनीतिक सहमतिमा २०६३ मा सञ्चालन भएजस्तै अहिले पनि सुचारु गर्न सकिने बताए । शुक्रबार बुटवलमा पत्रकारहरुसंग बोल्दै गुरुङले सर्वोच्च अदालतले विघटनलाई बदर गरेमा स्वतः सुचारु हुने र नभए आन्दोलनको बलमा पुनर्स्थापना हुने बताए ।

सर्वोच्चबाट विघटन बदर नभए अहिलेको आन्दोलन जनबिद्रोहमा परिणत हुनसक्ने गुरुङले औंल्याए । ‘प्रधानमन्त्री र राष्ट्रपतिले निर्णय गर्दैमा प्रतिनिधि सभा विघटन हुन सक्दैन’ गुरुङले भने, ‘यो कदमको विरोधमा सबैजसो दल, नागरिक, समाज र मिडिया उभिएका छन् । त्यसैले सर्वोच्चले संविधान अनुसार पुनर्स्थापना गर्छ भन्ने विश्वास छ, नभए आन्दोलनले गर्छ ।

प्रधानमन्त्रीले घोषणा गरेको चुनाव संविधान विपरीत भएकाले चुनाव नहुने उनले ठोकुवा गरे ।